
पूर्णपुष्टि, माघ १५ गते । झापा र मोरङका तिन छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–६ बस्ने ३० बर्षीय प्रलाद कार्की, चुलाचुली गाउँपालिका–४ का ३२ बर्षीय बिर बहादुर लिम्बु, दमक–३ की २४ बर्षीया प्रेम कुमारी तामाङ, १९ बर्षीया दिक्षा योगी, फाकफोकथुम गाउँपालिका–३ घर भई दमक–९ मा बस्ने ३३ बर्षीय बिदुर पौडेल, धरान–१५ का ४२ बर्षीय मणी राई र तुवाचुङ गाउँपालिका–७ खोटाङका ४७ बर्षीय सुचिन राई रहेका छन् ।
लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा मेचीनगर नगरपालिका–६ बाट स्थानीय कार्कीलाई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो । शनिबार दिउँसो ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो ।
यसैगरी झापाकै दमक नगरपालिका–१ को कुमाल चोकमा रहेको एक होटलमा ब्राउनसुगरको बिक्रीबितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । शनिवार दिउँसो ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बिर बहादुर लिम्बु, प्रेम कुमारी तामाङ, दिक्षा योगी र बिदुर पौडेललाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ९ ग्राम लागुऔषध ब्राउसुगर र ४ थान मोबाईल बरामद गरेको छ ।
यसै गरी बिराटनगर–१५ बाट मणी राई र सुचिन राईलाई डाईलक्स डि.सी. सहित प्रहरीले पक्राउ गरेको हो । शनिवार साँझ लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई २० बोतल लागुऔषध डाईलक्स डि.सी. सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
