Saturday, June 13News That Matters

जंगली च्याउले २ जनाको ज्यान लियो

पूर्णपुष्टि, जेष्ठ ११

संखुवासभामा जंगली च्याउ खाएका ९ बिरामी मध्ये २ जनाले ज्यान गुमाएको छ । जंगली च्याउ खाएर बिरामी भएकी २१ वर्षीया निर्जला राईको मंगलबार मृत्यु भएको छ । च्याउ खाएर आठ वर्षीया रोजिना राईको पनि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मृत्यु भएको छ ।

सिलिचोङ गाउँपालिका –५ याफुमा जंगली च्याउ खाँदा ९ जना बिरामी भएका थिए । तीमध्ये २ जनाले ज्यान गुमाइसकेका छन् ।

जंगली च्याउ खाँदा बुद्धबहादुर र बुद्धिमाया राई, महेन्द्र, वीरेन्द्र, शहदेव राईसहित ९ जना बिरामीलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको जिल्ला अस्पतालका प्रमुख डा.सुन्दरश्याम जानकारी दिए । उनीहरुमध्ये अधिकांसमा मृगौला र कलेजोमा बढी समस्या देखिएको उनले बताए ।

शुक्रबार च्याउ खाएर सुतेपछि मध्यरातबाट सबैलाई वान्ता हुन थालेपछि सोही दिन याफु आधारभूत स्वास्थ्य सेवामा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनीहरुलाई जिल्ला अस्पताल ल्याइएको थियो । जिल्ला अस्पतालमा पनि उपचार सम्भव नभएपछि धरान रेफर गरिएको थियो । अन्य बिरामीको पनि धरानमा उपचार भइरहेको आफन्तले बताएका छन् ।