
पूर्णपुष्टि, पुस ३ ।
जग्गा विवादलाई लिएर उदयपुरका पत्रकार रविन्द्र चौधरीमाथि विहिबार कुटपिट भएको छ । त्रियुगा नगरपालिका १३ स्थित जग्गा विवादमा चौधरी कुटपिटमा परेका हुन् । कुटपिटबाट उनको नाक र गालामा चोट लागेको छ । समुहमा आएका स्थानीय शिवकुमार यादवले आफुमाथि कुटपिट गरेको आरोप चौधरीको छ ।
चौधरीका अनुसार आफ्नो बाउबाजेको पालादेखि भोगचलन गर्दै आएको ऐलानी जग्गामा एक्कासी मैले किनेको नम्बरी जग्गा भन्दै घेराबेला गर्न आएका यादवले विवादमा कुटपिट गरेको चौधरीको भनाई छ । यादवले सिमेन्टको खम्बा र काढे तारले बार्दै गर्दा चौधरी पुगेपछि दुबैपक्षबीच झगडा भएको प्रत्यक्षदर्शीहरुले बताए ।
कृष्ण कार्कीबाट श्रीमतीको नाममा जग्गा खरिद गरी संरक्षणका लागि बारबेर गर्न खोजेको बताउने यादवले चौधरीलाई कुटपिट नगरेको बताए ।
चौधरीले जिल्ला प्रहरी कार्यालयमा कुटपिटको उजुरी दिइ घाउँ चेकजाँच गराएका छन् । दुबैपक्षबीच प्रहरीमा केहीबेर छलफल चलेको थियो । छलफल निष्कर्षमा नपुगेपछि भोलीपल्ट स्थलगतरुपमै छलफल गरी मेलमिलाप वा न्यायका लागि कानूनीरुपले अगाडी बढ्ने भन्ने विषय टुंगो लाउने भएका छन् ।
