Wednesday, April 29News That Matters

जिल्ला अस्पताल उदयपुरका चिकित्सकमाथि दुव्र्यवहार गरेको आरोपमा एक युवक पक्राउ

पूर्णपुष्टि, बैशाख २३ । जिल्ला अस्पताल उदयपुरमा कार्यरत एक चिकित्सकमाथि दुव्र्यवहार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो अस्पतालको कार्यसमय अवधिमा अस्पतालमा कार्यरत रेडियोलोजिस्ट डा. दिपेश यादवमाथि दुव्र्यवहार गरेको आरोपमा चौदण्डिगढी नगरपालिका-९ का ३३ वर्षीय देबराज बिष्टलाई प्रहरीले पक्राउ गरेको हो ।

बिष्टले डा. यादवको कार्यकक्षमा प्रवेश गरी  “किन ढिलो गरिस” भन्दै डा. यादवलाई तथानाम गालीगलौज गरेका थिए । “म खाजा खाएर कार्यकक्षमा पस्ने बित्तिकै तथानाम गाली गालौज गर्दै दुव्र्यवहार गरियो,” डा. यादवले प्रतिक्रिया दिँदै भने । “उनले मेरो कोठामा लात्तीले हान्दै प्रवेश गरे र अनावश्यक रूपमा आक्रोशित भए ।”

आफू निर्धारित समयमा नै काममा उपस्थित भएको र कोठा बाहिर करिब २० जना बिरामीहरू पर्खिरहेको अवस्थामा यो घटना भएको डा. यादवले जानकारी दिए । “म बिरामीहरूको नाम बोलाउने क्रममा थिएँ जब यो दुव्र्यवहार भयो,” उनले थपे ।

घटनापछि अस्पताल प्रशासनले तत्काल प्रहरीलाई सूचित गरेको थियो । जिल्ला अस्पतालका प्रमुख सुपरिटेन्डेन्ट डा. बीरेन्द्र मण्डलले जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दर्ता गराएका छन् । उजुरीमा आरोपी बिष्टमाथि कानुनी कारबाही गर्न माग गरिएको छ । प्रहरीले बिष्टलाई अस्पताल परिसरबाटै पक्राउ गरेको र अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।