Saturday, June 13News That Matters

जिससद्वारा पाँच वर्षे कार्यप्रगति सार्वजनिक

काठमाडौं, जेठ ३० गते ।
जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले आफ्नो पाँच वर्षे कार्यकालमा भएका कामको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । विसं २०७४ साउन २० गते सम्पन्न निर्वाचनबाट जिसस प्रमुखमा निर्वाचित हुनुभएका चाम्लिङले आफ्नो कार्यकालको अन्तिम दिन पत्रकार सम्मेलन गरी पाँच वर्षको अवधिमा भएका कामको विवरण सार्वजनिक गर्नुभएको हो ।

जिल्लामा जनप्रतिनिधिको पोशाक र लोगो निर्धारणदेखि स्थानीय तह, प्रदेश र सङ्घीय सरकार तथा सङ्घ–संस्थाबाट सञ्चालन भएका योजना, कार्यक्रमको अनुगमन, समन्वय र सहजीकरण गरिएको उहाँले पत्रकार सम्मेलनमा बताउनुभयो । यस्तै, समृद्ध खोटाङ निर्माण अभियानमा गुणस्तरीय निर्माणसहित जनसेवी प्रशासनका लागि प्रभावकारी अनुगमन र समन्वयको आधारमा कार्य सञ्चालन गर्नेगरी सबैमा मार्ग निर्देशन गरेको, कोभिड–१९ को महामारीका समयमा जिसस प्रमुखको संयोजकत्वमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति गठन गर्दै महामारी रोकथाम तथा नियन्त्रण अभियान सञ्चालन गरिएको जानकारी दिइएको छ ।

कोभिड–१९ कै महामारीको बेला जिसस प्रमुख र उपप्रमुखको १५ दिनको र सदस्यको १० दिनको पारिश्रमिकबाट कूल रु एक लाख पाँच हजार रकम प्रदेश नं १ सरकारको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गरेको चाम्लिङले जानकारी दिनुभयो । यस्तै, जिससको मौज्दात कोषमा रहेको रु तीन करोड २१ लाख रकममध्ये ५४ लाख जिसस र बाँकी रकम १० स्थानीय तहका लागि विनियोजन गरिएको छ ।

प्रदेश सरकारअन्तर्गत रहेका कार्यालय सञ्चालन तथा व्यवस्थापन समिति प्रमुख रहेर काम गरेको, जिल्ला अस्पतालमा नयाँ स्वास्थ्य उपकरण थप तथा जनशक्ति व्यवस्थापनमा पहल गरेको चाम्लिङले बताउनुभयो । “जिल्ला अस्पतालमा मुटुको अप्रेसनपछि परीक्षण सेवा, थाइराइड परीक्षण, डिजिटल एक्स–रे, पोषण पुनः स्थापना गृह स्थापनामा पहल गरियो”, उहाँले भन्नुभयो, “दन्त चिकित्सक सेवा, व्लड बैंक स्थापना, जिल्ला अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण सुरु गर्नमा पनि समन्वय समितिको भूमिका रह्यो, विभिन्न पालिकामा आयुर्वेद स्वास्थ्य उपचार सेवा सुरु गरियो ।”

जिसस प्रमुख बनेपछि चाम्लिङले ‘विचार सहितको विकास समृद्ध खोटाङ हाम्रो निकास’ भन्ने नारा अघि सार्नुभएको थियो । अघिल्लो निर्वाचनमा जिसस खोटाङ नेकपा ९एमाले०को एकल बहुमतमा गठन भएको थियो ।

यसैबीच समितिमा नयाँ पदाधिकारीका लागि जिसस प्रमुखमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी ९जसपा०का सनबहादुर राई र एमालेबाट किशोरकुमार श्रेष्ठको मनोनयन दर्ता भएको छ । समन्वय समितिको उपप्रमुखका लागि गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र०का सुरेश तामाङ र एमालेबाट सन्तोष राईको मनोनयन दर्ता भएको छ ।

चुनावी भागवण्डाकै क्रममा गठबन्धनभित्र जिसस प्रमुख जसपालाई दिने सहमति भएको थियो । यस्तै, खुला सदस्यमा गठबन्धनबाट कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ राई, महिला सदस्यमा कांग्रेसका कला राई, माओवादी केन्द्रकी विष्णुमाया राई र नेकपा ९एकीकृत समाजवादी०का दिलकुमारी राई तथा दलित सदस्यमा माओवादीका चमेली विश्वकर्माको उम्मेदवारी दर्ता भएको छ ।

एमालेले जिसस सदस्यमा भने मनोनयन दर्ता नगराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समन्वय समितिको निर्वाचन आज हुने जनाइएको छ । रासस