Tuesday, April 28News That Matters

जीप दुर्घटनामा एकको मृत्यु, १०१ वर्षीया बृद्धा सहित तीन घाइते

काठमाण्डौँ, बैशाख ४
जिल्लाको सुर्माबाट धनगढीतर्फ गइरहेको सुपप्र०१–००१च ००९५ नंको जीप वित्थडचिर गाउँपालिका–४ देउलेख बजार नजिकै गएराति दुर्घटनामा हुँदा एकजनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । मृत्यु हुनेमा विनोद बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिनुभयो ।

यसैगरी घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ का १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका–२ का १९ वर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० वर्षीया सिन्की बोहरा छन् । घाइतेको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्जुको उपचार हुन नसकेपछि धनगढी सिफारिस गरिएको छ । प्रहरीका अनुसार जीपमा तीन महिला र छ पुरुष सवार थिए । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टसहितको टोली घटनास्थलतर्फ गएको थियो । घटना के कारण घटको हो भन्ने विवरण नखुलेको समेत सूचना अधिकारी चौधरीले बताउनुभयो । (रासस)