
पूर्णपुष्टि, साउन ११ । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घलेसहित १० जनाविरुद्ध जुवा खेलेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रहरी वृत्त बौद्धको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार मुद्दा दायर गरेको हो।
गत साउन ५ गते अपराह्न ३ बजेतिर प्रहरीले घलेको घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको थियो। प्रहरीले १ लाख ३६ हजार ५ सय रुपैयाँ नगद, ३७ वटा क्वाइन र ६ बुक तास बरामद गरेको थियो। पक्राउ परेका अन्य व्यक्तिहरूमा बूढानीलकण्ठका रमेश लामा, काठमाडौंका चीनकुमार गोले, राजु तामाङ, दिनेश सुनार, प्रवीण लामा, विष्णुकुमार दोङ, सुमन गोले, सिन्धुपाल्चोकका सुक्र सुनार र ऋतिक राउत रहेका छन्।
गाउँपालिका अध्यक्ष घलेले प्रहरीसँगको बयानमा मनोरञ्जनका लागि साथीभाइसँग म्यारिज खेलेको बताएका छन्। उनी यसअघि पनि मानव बेचबिखनको आरोपमा पक्राउ परेका थिए, तर त्यसबेला मुद्दा नचलाइएको थियो। मुलुकी अपराध संहिता अनुसार पहिलो पटक जुवा खेल्नेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ। दोस्रो पटकदेखि एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
