
पूर्णपुष्टि/उदयपुर, असार १०
उदयपुर प्रहरीले जुवा खेलिरहेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ। पछिल्लो समय जिल्लामा जुवाडेहरू धमाधम पक्राउ पर्न थालेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुर र अस्थायी प्रहरी पोस्ट बगाहाबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार साँझ करिब ५ बजे त्रियुगा नगरपालिका–४ डाँडाटोलस्थित ईश्वर कार्कीको गोठघरमा छापा मार्दा जुवा खेलिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा त्रियुगा नगरपालिका–४ का ५० वर्षीय तिलक बुढाथोकी, वडा नं। ११ का ३९ वर्षीय भवननाथ सिग्देल, ४० वर्षीय प्रबिन राई तथा वडा नं। ९ का ४३ वर्षीय दिपक बराल रहेका छन्।
प्रहरीले घटनास्थलबाट जुवामा प्रयोग हुने १६ वटा कौडा, नगद ५२ हजार ६ सय रुपैयाँ, पाँच थान मोबाइल र चार थान मोटरसाइकल बरामद गरेको जनाएको छ।
पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला प्रशासन कार्यालय उदयपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
