Sunday, June 21News That Matters

जेठ ४ गतेकाे विस्तृत काेराेना खबर : अब उदयपुरमै अक्सिजन प्लान्ट सञ्चालन हुने, प्रशासनकाे १५ बुदे महत्वपूर्ण निर्णय सावर्जनिक

पूर्णपुष्टि, जेठ ४ ।

उदयपुरमा कोरोना संक्रमितको संख्या ४ सय ५२ पुगेको छ । जसमा २ सय ६९ पुरुष र १ सय ९३ महिला रहेका छन् ।

स्वास्थ्य कार्यालय उदयपुरका अनुसार पछिल्लो २४ घण्टामा २२ जना थपिएसंगै संक्रमितको संख्या ४ सय ५२ पुगेको हो । ३७ जनाको एन्टिजेन परिक्षण गर्दा १६ पुरुष र ६ महिला गरी २२ जना संक्रमित फेला परेका हुन् ।

संक्रमित मध्ये ४०७ जनाको होम आइसोलसनमा र ४५ जनाको संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ ।

यता तीनदिनदेखि उदयपुरमा कोरोना विरामीको मृत्यु लहर टुटेको छैन । आज पनि एकजनाको कोरोनाले ज्यान गएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार त्रिनपा १२ का एक पुरुषको मृत्यु भएको छ ।

योसंगै उदयपुरमा मृत्यु हुनेको संख्या १४ पुगेको छ । पछिल्लो तीनदिनभित्र ७ जनाको ज्यान गएको हो । मृतहरु मध्ये १० जना त्रियुगा नगरपालिकाका हुन् भने ३ जना चौदण्डीगढी नगरपालिका र १ जना कटारी नगरपालिकाका हुन् ।

संक्रमित मध्ये सबैभन्दा बढि त्रियुगा नगरपालिकाका छन् । त्रियुगामा संक्रमितको संख्या २ सय २८ रहेको छ । मृत्यु हुनेको संख्या पनि त्रियुगामा सबैभन्दा बढि छ । जिल्लाको १४ जना मृतक मध्ये १० जना त्रियुगाका हुन् ।

आज त्रियुगा वडा नं. १६ को आधारभुत स्वास्थ्य सेवा केन्द्र सुकौरामा २६ जनामा परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको वडाध्यक्ष मानबहादुर राईले जानकारी दिनुभएको छ । वडाको भोर्ले, ब्यांरी र सुकौराका ज्वरो आउने विरामीहरुलाई परिक्षण गर्दा ९ महिला र ६ पुरुषमा संक्रमण देखिएको हो । उनीहरु सबैलाई होम आइसोलेशनमा राखिएका छन् । संक्रमण ब्यापक देखिएपछि वडाको टोलहरुलाई टोलटोलमै सिमिट हुने गरी शिल गरिएको छ । वडाध्यक्षले वडाको नाममा बक्तब्य समेत जारी गर्दै अहिलेको संवेदनशिलतालाई बुझेर सबैले पालना गरीदिन आग्रह गर्नुभएको छ ।

यसैबीच बढ्दो कोरोना संक्रमणप्रति लक्षित गर्दै जिल्ला उदयपुर विकास बोर्डले महत्वपूर्ण निर्णयहरु गरेको छ । बोर्डले बेलका नगरपालिकामा अक्सिजन प्लान्ट राख्ने निर्णय गर्दै त्यसका लागि चारवटा नगरपालिकाबाट १०÷१० लाख र चार गाउँपालिकाले ५÷५ लाखका दरले बजेट विनियोजन गर्ने निर्णय भएको छ । सकेसम्म अवको सयदिनभित्रमै प्लान्ट निर्माण गर्ने लक्ष लिइएको छ । प्लान्ट कति क्षमताको भन्ने कुरा पालिकाहरुको जम्मा ६० लाख बाहेक अन्य सहयोगी दाताहरुको सहयोगको आधारमा निर्धारण गरिने जनाइको छ ।

अक्सिजनको अभावमा कोही मृत्युको मुखमा पुग्न नपरोस् भन्ने हेतुले सिंगो उदयपुरबासीलाई मध्येनजर गर्दै बेलकामा अक्सिजन प्लाण्ट राख्न लागिएको हो । जिल्लामा अक्सिजन प्लान्ट नहुदा सिंगो जिल्ला बाहिरजिल्लाको भर पर्नु परेको छ ।

१८ वर्ष माथिका उदयपुरका सबै नागकिलाई कोरोना खोप लगाउने लक्षका साथ आगामी आर्थिक वर्षको पूर्वधारतर्फको बजेट खोप खरिदमा लगाउने निर्णय भएको छ । त्यसको स्विकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गर्ने बोर्डले जनाएको छ ।

बढ्दो कोरोना संक्रमणमा आवश्यक अवस्थामा वडा तथा पालिकाहरु शिल गर्न तयारी रहदै जिल्ला कोभिड संकट ब्यवस्थापन समितिलाई तत्काल सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

बोर्डका अध्यक्ष एवम् त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको अध्यक्षतामा भएको बैंठकले छिमेकी जिल्ला सप्तरीको सप्तकोशी नगरपालिकाका उपप्रमुख आशादेवी चौधरीको कोराना भाइरसको कारण निधन भएकोमा शोक ब्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । बैंठक जुममार्फत गरिएको हो ।

त्यसैगरी, उदयपुरको कोरोना संकटलाई मध्येनजर गर्दै हिजो प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईको अध्यक्षतामा बसेको जुम बैंठकले १५ बुदे महत्पूर्ण निर्णयहरु गरेको छ ।

बैंठकले पहिलो नम्बरमा जिल्लामा संक्रमण बढ्दो अवस्थालाई मध्येनजर गर्दै एन्टिजेन र पीसिआर किटको ब्यवस्था गरी परिक्षणको दायरा बढाउने निर्णय गरेको छ ।

उदयपुर जिल्ला अस्पतालमा सबै स्थानीय तहहरुले आफु अन्तर्गतका स्वास्थ्यकर्मीहरुलाई आलोपालो खटाउनुपर्ने निर्णय भएको छ । अस्पतालमा कोरोनाका विरामीहरुको संख्या बढ्दै जाँदा स्वास्थ्यकर्मीहरुको थप आवश्यकतालाई मध्येनजर गर्दै यस्तो निर्णय भएको हो । अस्पतालको परिषरमा २४ सै घण्टा रहने गरी एम्बुलेन्स सेवा उपलब्ध गराउन त्रियुगा नगरपालिकाले सहजिकरण गर्ने र अस्पताल क्षेत्रको सुक्षा ब्यवस्था प्रभावकारी बनाउन जिल्ला प्रहरीले प्रवन्ध मिलाउने निर्णय भएको छ ।

मृतकको संख्या जिल्लामा बढ्दै गएकाले सब ब्यवस्थापनलाई सहज र प्रभावकारी बनाउने निर्णय भएको छ । त्यसका लागि सम्बन्धीत स्थानीय तहहरुले डिभिजन वन कार्यालयसंग समन्वय गरी दाउराको आवश्यक व्यवस्था मिलाउने भनिएको छ ।

सब ब्यवस्थापनमा खटिने नेपाली सेनाको टोलीलाई आवश्यक स्वास्थ्य सामग्रीहरुको पूर्व ब्यवस्थापन गर्ने निर्णय भएको छ । कोरोनाले मृत्यु भएकाको आफतले दाहसंस्कार गर्न नसकेमा स्थानीय तहले प्रशासनमार्फत नेपाली सेनालाई अनुरोध गर्ने निर्णय भएको छ ।

बैंठकले कटारी बजार बन्द गर्ने नगरपालिको सिफारिसलाई पास गरेको छ । कटारी हुदै अन्य जिल्लामा निर्माण सामाग्री तथा खाद्यन्न ओसार पसारले कोरोना फैलिएको ठहर पालिकाको छ । सवारी, आवतजावत र विकास निर्माणका काम सबै ठप्प पार्ने निर्णय भएको छ । आजदेखि कटारी बजार बन्द छ । कटारी नगरपालिका क्षेत्रका राष्टिय महत्वका  आयोजना बाहेकका सबै विकास निर्माणका काम ठप्प पारिएका छन् । एम्बुलेन्स, सववाहन, विरामी बोकेको सवारी बाहेक सबै रोकिएका छन् ।

त्रियुगा नगरपालिकाको वडा नं. १६ र बेलका नगरपालिकाको वडा नं. ४ स्थित गुरुङचौरीलाई अर्को आदेश नभएसम्म शिल गर्ने निर्णय भएको छ । सम्बन्धीत पालिकाको सिफारिसको आधारमा यस्तो निर्णय भएको हो ।

मदिरा सेवन र विक्री वितरणलाई पूर्णरुपले बन्द गराउने निर्णय पनि भएको छ । त्यसका लागि निशेधाज्ञभर मदिरा पसल, होटल ब्यवसाय र मदिरा जन्य बस्तुहरुको विक्रीवितरण पूर्णरुपले रोकिनेछ ।

नेपाली सेनाले मोवाईल पेट्रोलिङमार्फत जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । हालको निशेधाज्ञलाई थप प्रभावकारी बनाउन र कारोना रोकथाम तथा प्रतिकार्यका लागि जनचेतनामुलक कार्यक्रम गरिने भएको हो । सेनाको मोवाईल पेट्रोलिङ टोलीले माईकिङ गरी जनचेतना फैलाउने भएको छ ।

चौदण्डीगढी नगरपालिका स्थित उदयपुर कोभिड अस्पतालमा सिसि क्यामेरा जडान गर्ने निर्णय भएको छ । विरामीको चाप बढेसंगै नियमित निगरानी र प्रभावकारीताका लागि सबै कोठामा सिसि क्यामेरा जडान गरिने भएको छ । आवश्यकता अनुसार स्वास्थ्य सामग्री, जनशक्ति, औषधी, अक्सिजन ब्यवस्थाका गरिनेछ ।

बैंक तथा वित्तिय संस्थाबाट प्रवाह हुने सेवाहरु विद्युतीय बैंकिङ प्रणाली तथा एटिएम सेवामा बढवा दिन र हप्तामा बढिमा ३ दिन विहान ७ देखि ९ बजेसम्म मात्र अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

होम आइसोलेशनमा बस्ने संक्रमित विरामीहरुको विवरण संकलन तथा अभिलेख अधावधिक प्रभावकारीरुपले गर्ने निर्णय गरेको छ । त्यसका लागि सम्बन्धीत पालिकाहरुले फोन नम्बर सहित प्रतिवद्ध कर्मचारी खटाई संक्रमितको विवरण संकलन गर्ने र स्वास्थ्य कार्यालय मार्फत प्रशासनमा नियमितरुपले पठाउनुपर्नेछ । आइसोलेशनमा रहेका संक्रमितहरुलाई औषधि, पोषणयुक्त आहार, आयुर्वेदिक चुर्ण तथा मनोसामाजिक परामर्श स्थानीयतको सहकार्य तथा संयोजनमा स्वास्थ्य कार्यलय, आयुर्वेदिक कार्यालय र सामाजिक संघसंस्थाहरुले घरदैलो कार्यक्रम गर्ने निर्णय पनि भएको छ ।

राष्टिय महत्वका तथा यसै आर्थिकवर्ष भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएका जिल्ला स्तरीय ठूला आयोजनाहरुको निर्माण कार्य मात्र सन्चालन गर्ने र सो सम्बन्धी निर्माण सामग्री ढुवानी का साधन मात्र चल्न पाउने निर्णय भएको छ । त्यस बाहेका निजी तथा सार्बजनिक निर्माण संग सम्बन्धीत सवारी साधनहरु पूर्णरुपले बन्दको निर्णय छ ।

चौदण्डीगढी नगरपालिकास्थित कोभिड अस्पताल र मदन भण्डारी आँखा अस्पतालमा संक्रमित विरामीहरुको उपचारलाई थप प्रभावकारी बनाउन ५÷५ बेडको एचडीयु सन्चालन गर्न सामाजिक विकास मञ्त्रालय प्रदेश नं. १ संग समन्वय गर्ने निर्णय भएको छ । त्यसका लागि चौदण्डीगढी नगरपालिका र जिल्ला अस्पताले आवश्यक ब्यवस्था मिलाउने भनिएको छ ।

त्रियुगा नगरपालिका ५ स्थित स्वास्थय चौकी देउरीमा १० बेडको आइसोलेशन सेन्टर स्थापना गर्न त्रिनपाको संयोजकत्वमा उदयपुर सिमेन्ट उ्रद्योग र जिल्ला स्वास्थ्य कार्यालयले सहयोग गर्ने निर्णय भएको छ ।

कोरोनाकै सन्दर्भमा, उदयपुर जिल्लामा बढ्दो कोरोना संक्रमण नियन्त्रण तथा प्रतिरोधमा टेवा पुर्याउने उद्देश्यले नेपाली सेनाको बोक्से स्थित रणसादुल गणले जनचेतनामुलक कार्यक्रम गर्ने भएको छ । सेनाको मोवाइल पेट्रोलिङमार्फत गाडीमा माइकिङ गरी जनचेतनामुलक कार्यक्रम गरिने गणपति अर्जुन बोहोराले बताउनुभयो । यो काम नेपाली सेना परिचालनको रुपमा नभई सेनाको तर्फबाट जनचेतनामुलक कार्य मात्र गरिएको उहाँको भनाई छ । हाल उदयपुरको स्थितिमा कोरोना नियन्त्रणका लागि नेपाली सेना परिचालनको आवश्यकता नरहेकोले जनचेतनामुलक कार्यक्रम मात्र गरिने उहाँले बताउनुभयो । मुख्य बजार तथा बस्तीहरुमा जनचेतना फैलाउने उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाइका अनुसार संकटमा सेना परिचालनका निम्ति प्रशासनले फरक किसिमले प्रक्रिया बढाउनु पर्ने हुन्छ । जुन, अहिले आवश्यकता परेको छैन ।

कोरोनाबाट मृत्यु भएकाको शब ब्यवस्थापनमा नेपाली सेनाले ठूलो भूमिका निर्वाह गर्दै आएको छ । उदयपुरमा पनि सेनाले शब ब्यवस्थापनको कार्य गर्दै आएको छ । सेनाले उदयपुरको त्रियुगा नगरपालिकामा ३ जनाको शबको दाहसंस्कार गरिसकेको छ । दुई पुरुष र एक महिलाको शबको दाह संस्कार सेनाले गरेको हो ।

कुनै ब्यक्तिको मृत्यु कोरोनाको कारण भएमा आफन्तले दाहसंस्कार गर्न नसकि स्थानीय तहले प्रशासनमा र प्रशासन मार्फत सेनालाई अनुरोध आएमा त्यस्ता शबको ब्यवस्थापन सेनाले गर्ने गणपति बोहोराले बताउनुभयो ।

पछिल्लो समय मन्त्री परिषद्को निर्णय अनुसार मृतकको आफन्तले आफै दाहसंस्कार गर्न चाहेमा दिइन्छ । स्वास्थ्य मापदण्ड पुरा गरी २५ जना भन्दा बढि मलामी नहुने गरी आफन्तले दाहसंस्कार गर्न पाउने नियम छ । आफन्त नभएका वा भएपनि आफन्तलाई दाहसंस्कारमा समस्या भएमा सेना शब व्यवस्थापन टोली तयार रहनेछ । जिल्लामा सेनाको ५ वटा शब ब्यवस्थापन टोली रहेको जनाइएको छ ।

यसैबीच, उदयपुरका संचारकर्मी तथा कलाकार गोठकृष्ण ठकुरीलाई पत्नीशोक परेको छ । दोस्रो लहरको कोरोनाले आजविहान वहाँको धर्मपत्नीको निधन भएको छ । उहाँकी धमृपत्नी ३५ वर्षिया  मृदुल ज्यू ठकुरीको विहान निधन भएको कलाकार ठकुरीले बताउनुभयो ।

नोबेल अस्पताल विराटनगरले उपचारपछि कोरोना परिक्षणको दोस्रो रिपोर्ट नेगेटिभ देखाएपछि उहाँले धर्मपत्नीलाई त्रिनपा ३ मोतिगडास्थित घर ल्याउनु भएको थियो । एक्कासी विहान २ बजेतिर स्वास्थ्यमा समस्या आइ निधन भएको उहाँले बताउनुभयो । एक्कासी शरीरमा अक्सिजनको कमी देखाएको र साथमै ल्याएको अक्सिजन दिदा पनि काम नगरेको उहाँले बताउनुभयो । अस्पतालले नेगेटिभ देखाएपछि घर फर्किएको विरामीको मृत्यु भएपछि अस्पतालको परिक्षण नै गलत होकी भन्ने आशंका बढेको छ ।

कोरोना खबरकै सन्दर्भमा, उदयपुरमा संस्थागत आइसोलेशन बेड र अक्शिजन शिलिण्डरको संख्या बृद्धि गरिएको छ । बढ्दो संक्रमणलाई मध्येनजर गर्दै जिल्लामा आइसोलेशन बेड र अक्सिजन शिलिण्डरको संख्या बृद्धि गरिएको हो ।

स्वास्थ्य कार्यालय उदयपुरको अनुसार जिल्लाको ५ अस्पतालमा १ सय ३८ वटा बेड रहेकोमा ५६ वटा बेड बृद्धि गरिएपछि जम्मा १ सय ९४ बेड पुगेको छ । जिल्लाको विभिन्न पालिका तथा वडास्तरका स्वास्थ्य संस्थाहरुमा आइसोलेशन बेड बद्धि गरिएपछि संख्या बढेको हो ।

त्यसैगरी ६० वटा थपिएपछि जिल्लामा अक्सिजन शिलिण्डरको संख्या १ सय ६३ पुगेको छ । यसअघि १ सय ३ वटाले काम चलाइएको थियो । विभिन्न निजी, उद्योग, कलकारखानाबाट संकलन गरिएपछि अक्सिजन शिलिण्डर थपिएको हो । नेपाल प्रहरी अक्सिजन शिलिण्डरमा विशेषरुपले खटिएको थियो । उदयपुर प्रहरीले दुईदिनअघि ४१ थान अक्सिजन अस्पताललाई जिम्मा लगाएको थियो ।

उता, जिल्लाको पहाडी पालिका लिम्चुङबुङ गाउँपालिकाको ३ वडामा कोरोना संक्रमण देखिएको छ । ५ वडा रहेको पालिकाको वडा नं. १ बाँसबोटे, वडा नं. २ ताम्लीछा र वडा नं. ५ जाँतेमा संक्रमण देखिएको हो । तीनवडामा जम्मा १३ जना संक्रमित पुष्टि भएको हो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुका अनुसार बाँसबोटेमा सबैभन्दा बढि १० जना, ताम्लिछामा २ र जाँतेमा १ जनामा संक्रमण देखिएको हो । संक्रमितहरु मध्ये १ जना उदयपुर कोभिड अस्पताल बेल्टारमा उपचारपछि निको भई फर्किसकेका छन् ।

संक्रमितहरुको हाल पालिकाको सदरमुकाम बाराह स्थित महेन्द्र माध्यामिक विद्यालयमा बनाइएको आइसोलेशनमा राखि उपचार भइरहेको छ ।

पालिकाले उक्त विद्यालयमा १२ बेडको आइसोलेशन बनाएको छ । एकजना एमबीबीएस डाक्टर उमेश कार्कीसहितको स्वास्थ्यकर्मी टोली ब्यवस्था गरिएको छ । पालिकामा पाँचवटा अक्सिजन शिलिण्डर तयारी अवस्थामा राखिएका छन् ।

पालिकाभित्र संक्रमण फैलिएसंगै हिड्डुल, जमघट जस्ता कुरामा बन्देज लगाएको छ । पालिकाले कडाईका साथ जिल्लाको निशेधाज्ञ पालना गर्न पालिकाबासीलाई अपिल गरेको छ । साथै स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ ।

कोरोना खबर अपडेटको क्रममा, देशभर कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ हजार २०३ जना थपिएसंगै संक्रमितको संख्या सो परिमाणमा पुगेको हो ।

नेपालमा मृत्यु हुनेको संख्या ५ हजार ४११ पुगेको छ । पछिल्लो २४ घण्टामा १९६ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ८ हजार ८९१ जनाले कोरोनालाई जित्दा देशमा निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मञ्त्रालयले जनाएको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या १६ करोड ४२ लाख ८३ हजार ६१५ पुगेको छ । गएको २४ घण्टामा विश्वभर ५ लाख ५४ हजार ५५१ जना कोरोना संक्रमितको संख्या थपिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाले विश्वमा ११ हजार १०० जनाले ज्यान गुमाएसंगै विश्वमा मृत्यु हुनेको संख्या ३४ लाख ०४ हजार ७४८ पुगेको छ ।

विश्वमा  कोरोना जितेर निको हुनेको संख्या १४ करोड ३० लाख २२ हजार २७८ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ लाख ६ हजार २२१ जना निको भएका हुन् ।