Tuesday, April 21News That Matters

टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प : तीन जनाको मृत्यु

पूर्णपुष्टि,फागुन ९ । टर्कीमा शक्तिशाली भूकम्पका कारण हजारौँ मानिसको ज्यान गएको केही सातापछि दक्षिणी टर्कीमा सोमवार फेरि अर्को भूकम्प गएको छ । सोमबार गएको अर्को शक्तिशाली भूकम्पमा परेर अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रबिन्दु बनाएर सोमबार ६‌.३ म्याग्नेच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का सिरिया र टर्कीका कैयौँ क्षेत्रमा महसुस गरिएको थियो । यो भूकम्पपछि दर्जनौँ पराकम्पनहरू गइरहेको त्यहाँका अधिकारीले जनाएका छन् । सरकारले मानिसहरूलाई भवनभन्दा टाढा रहन अपिल गरेको छ ।

उक्त भूकम्पमा परेर हालसम्म तीन जनाको ज्यान गएको पुष्टि भएको छ । सोमवारको भूकम्प ६.४ म्याग्निट्यूडको भएको बताइएको छ । पछिल्लो भूकम्पका कारण टर्की र सिरियामा गरी ६८० जनाभन्दा बढी घाइते भएको पुष्टि भएको छ । टर्कीको विपद् तथा आपत्कालीन मामिलासम्बन्धी निकाय अफादले त्यहाँको समय अनुसार सोमवार साँझ ८ः ०४ बजे भूकम्प गएको र त्यसपछि दर्जनौँ परकम्पहरू पनि मापन गरिएको जनाएको छ।