
पूर्णपुष्टि, फागुन १८
नवलपुरको दुम्कौलीमा दुई वटा ट्रक एकआपसमा ठोकिन्दा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गतराति दुई वटा ट्रक एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो भने दुई जना घाइते भएका छन् ।
दुर्घनामा परेका दुवै ट्रकका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ । दुर्घटनामा परी ना ६ ख ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका–१५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ना ७ ख ७०२३ नम्बरको ट्रकका चालक हेटौँडा उपमहानगरपालिका निबासी ३४ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको प्रहीले जनाएको छ ।
दुर्घटनामा ट्रकका सहचालक तनहुँ बन्दीपुर गाउँपालिका–३ बस्ने १८ वर्षीय विश्वास शाही र बवही गाउँपालिका–६ दाङ बस्ने ३३ वर्षीय घनश्याम खड्का घाइते भएका छन् । घाइते दुवैको अवस्था गम्भीर रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
