
पूर्णपुष्टि, माघ ५
सोलुखुम्बुमा ट्रिफर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आइतबार राति ११ बजेतिर भएको दुर्घटनामा टिपर चालक धादिङको थाक्रे गाउँपालिका घर भएका अन्दाजी ३२ वर्षीय कमल मगर, मकवानपुरको बागमती गाउँपालिका–४ का राजकुमार मगर र सप्तरीको सुरुङ्गा नगरपालिका–८ का १९ वर्षीय कृष्णलाल चौधरीको घटनास्थलमै मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सोलु खोलामा निर्माणाधीन हाइड्रोपावरका लागि सामान ओसारपसार गर्ने बा ४ ख ७९८० नम्बरको टिपर दुर्घटना भएको हो । दुर्घटनामा मकवानपुरको बागमती गाउँपालिका–४ का २३ वर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनलाई सडकबाट लगभग एक सय मिटर तल भेटिएको टिपरको अगाडिको भागमा अड्किरहेको अवस्थामा उद्धार गरिएको थियो । चालकबाहेक मृत्यु भएका दुई र घाइते भएका एक जना हाइड्रोपारका कामदार भएको प्रहरीले जनाएको छ ।
