
पूर्णपुष्टि सम्बाददाता
उदयपुर, साउन २८ ।
२७औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उदयपुरमा ‘डिजिटल सुरक्षा र युवा’ विषयक अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘फरक परिवेश, साझा आकाङ्क्षा’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ बुधबार ओरेक आधार, राजाबासमा कार्यक्रम आयोजना गरिएको हो ।
महिला सशक्तीकरण स्रोत केन्द्र उदयपुर, हुरेन्डेक–नेपाल उदयपुर, जाल्पा एकीकृत विकास समाज उदयपुर र वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा युवाको बढ्दो डिजिटल पहुँचसँगै देखिएका साइबर जोखिम, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन हिंसा तथा दुव्र्यवहारबाट बच्ने उपाय र डिजिटल प्रविधिको जिम्मेवार प्रयोगबारे छलफल गरिएको थियो । 
कार्यक्रममा वल्र्ड भिजन इन्टरनेशनल नेपालका आनन्द खड्काले अन्तर्राष्ट्रिय युवा दिवसको अवधारणा, महत्व तथा समाज परिवर्तनमा युवाको भूमिकाबारे प्रस्तुतीकरण गर्नुभएको थियो। महिला सशक्तीकरण स्रोत केन्द्रकी कार्यकारी निर्देशक बन्दना दनुवारले युवाका आकाङ्क्षा फरक भए पनि शान्ति, स्वतन्त्रता, शिक्षा, रोजगारी, समानता र समृद्धिको चाहना साझा रहेको बताउँदै युवालाई नेतृत्वदायी भूमिकामा अघि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा समूहगत अभ्यासमार्फत युवाको नेतृत्व क्षमता, सिर्जनशीलता, सामूहिक निर्णय र सहकार्यको अभ्यास गराइएको थियो। साथै, इन्टरनेटका अवसर र चुनौतीबारे छलफल गरी सहभागी युवाले आफ्ना अनुभव तथा धारणा प्रस्तुत गरेका थिए ।
सहभागीहरूले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले अध्ययन तथा दैनिक जीवनमा असर पार्ने, समयको दुरुपयोग हुने र गलत तथा भ्रामक सूचना फैलिने समस्या बढेको बताएका थिए। फेक आईडी, साइबर बुलिङ, ब्ल्याकमेलिङ र अनलाइन ठगीजस्ता जोखिमबाट जोगिन व्यक्तिगत विवरण सार्वजनिक नगर्ने, बलियो पासवर्ड प्रयोग गर्ने, अपरिचित व्यक्तिले पठाएका शंकास्पद लिंक नखोल्ने तथा ओटीपी र बैंकिङ विवरण गोप्य राख्नुपर्नेमा उनीहरूले जोड दिएका थिए।
यद्यपि, इन्टरनेटलाई चुनौतीका रूपमा मात्र नभई अवसरका रूपमा पनि प्रयोग गर्न सकिने सहभागीहरूको भनाइ थियो । इन्टरनेटमार्फत नयाँ सीप सिक्न, सूचना आदानप्रदान गर्न, रोजगारी तथा आयआर्जनका अवसर खोज्न, प्रतिभा प्रदर्शन गर्न तथा कला, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्न सकिने उनीहरूले बताएका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी गणेश बमले जिल्लामा डिजिटल माध्यमबाट हुने ठगी तथा साइबर हिंसाका घटना बढ्दै गएको जानकारी दिनुभयो । उहाँका अनुसार बैंकको कर्मचारी बनेर केवाईसी अपडेट गर्ने नाममा ओटीपी माग्ने, सामाजिक सञ्जाल तथा ह्वाट्सएप ह्याक गर्ने, ब्ल्याकमेलिङ गर्ने तथा अनलाइन सपिङ र रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने घटना हुने गरेका छन् ।
डिएसपी बमका अनुसार आर्थिक वर्ष २०८१/८२ मा डिजिटल ठगी तथा साइबर अपराधसम्बन्धी ५१ वटा रिपोर्ट परेकोमा ४७ वटा मुद्दा दर्ता भएका थिए। चालु आर्थिक वर्षको एक महिनामै ठगीसम्बन्धी १३ वटा मुद्दा परेको र फेक आईडी बनाएको सम्बन्धमा ८ वटा निवेदन परेको उहाँले बताउनुभयो ।
नागरिकताको फोटो लगायत व्यक्तिगत विवरण दुरुपयोग गरी बैंक खाता खोलेर आपराधिक गतिविधिमा प्रयोग गर्ने घटना समेत देखिएको उहाँले जानकारी दिनुभयो। यस्तै, यस्ता माध्यमबाट उदयपुरका करिब ३०० जना ठगीमा परेको घटना अनुसन्धानका क्रममा खुलेको डिएसपी बमले बताउनुभयो ।
डिजिटल प्रविधिको सही प्रयोगले सूचना, रोजगारी र अवसर सिर्जना गरे पनि यसको दुरुपयोग हुँदा अपराधको माध्यम बन्न सक्ने भन्दै डिएसपी बमले युवालाई सामाजिक सञ्जालको प्रयोगमा सचेत र जिम्मेवार बन्न आग्रह गर्नुभयो। उहाँले अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न तथा व्यक्तिगत, बैंकिङ र गोप्य विवरण कसैलाई पनि नदिन सुझाव दिनुभयो ।
कार्यक्रममा बलियो पासवर्ड कसरी बनाउने, अनलाइन कन्सेन्ट के हो, फेक आईडी कसरी चिन्ने, ओटीपी किन गोप्य राख्ने, फिसिङ लिंकबाट कसरी जोगिने, साइबर बुलिङ तथा अनलाइन धम्की आएमा के गर्ने र फेक न्युज कसरी पहिचान गर्ने विषयमा बेलुन खेलमार्फत प्रश्नोत्तरसमेत गरिएको थियो ।
साइबर हिंसा वा अनलाइन धम्की भएमा स्क्रिनसट तथा अन्य प्रमाण सुरक्षित राख्ने, विश्वासिलो व्यक्तिलाई जानकारी गराउने र सम्बन्धित निकायमा उजुरी गर्ने विषयमा पनि सहभागीलाई सचेत गराइएको थियो। साथै, कुनै पनि सूचनाको सत्यतथ्य पुष्टि नगरी सामाजिक सञ्जालमा शेयर नगर्न आग्रह गरिएको थियो । कार्यक्रमको अन्त्यमा समूहगत गतिविधिमा उत्कृष्ट नेतृत्व प्रदर्शन गर्ने पाँच जना समूह नेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
