
पूर्णपुष्टि, फागुन ७ ।
जिल्ला प्रहरी कार्यालय उदयपुुरका प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले २९ औं पटक रक्तदान गरेका छन् । उनले गाईघाटमा २९ औं पटक रक्तदान गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा त्रियुगा उद्योग वाणिज्य संघले शनिबार गाईघाटमा आयोजना गरेको रक्तदान कार्यक्रममा जागिरको सिलसिलामा विभिन्न ठाउँमा २८ औं पटक रक्तदान गरिसकेका प्रनाउ गौतमले २९ औं पटक रक्तदान गरेका हुन् ।
कार्यक्रमको सुरुवातमै डिएसपी गौतमले रक्तदान गरेका थिए । उनीसंगै सिनियर तथा जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार तथा जवानहरुले रक्तदान गरेका थिए । साथै कार्यक्रममा सशस्त्र प्रहरी, साईकिलिष्ट खेलाडी, पत्रकार, नागरिक अगुवा तथा ब्यापारी, ब्यवसायीहरुले रक्तदानमा भाग लिएका थिए ।
शरिरबाट निश्चित समयमा खेर जाने रगत दान गरेमा त्यसले धेरैको ज्यान बचाउन सक्ने भएकाले रक्तदान पुन्यको काम भएकोले प्रजातन्त्र दिवस जस्तो विशेष दिनमा कार्यक्रमको आयोजना गरिएको त्रिउवा गाईघाटका अध्यक्ष रमेश रसाईलीले बताए ।
जेसिस उदयपुर, उदयपुर साईक्लिङ संघ, घरेलु तथा साना उद्योग महासंघ, उदयपुर सुनचाँदी ब्यवसायी संघ, जीवन विज्ञान परिवार र नेपाल काण्ठ फर्निचर ब्यवसायी संघको सहयोग तथा नेपाल रेडक्रस सोसाईटी उदयपुरको प्राविधिक सहयोगमा भएको रक्तदानमा ५९ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ ।
रक्तदानसंगै जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल, उद्योगी, ब्यापारीहरुको उपस्थितिमा प्रजातन्त्र दिवस मनाइएको थियो । कार्यक्रमका बक्ताहरुले महान् सहिदहरुको योगदानको स्मरण गरेका थिए ।
