
पूर्णपुष्टि, भदौ १५
डेरा गरी बस्दै आएकी एक महिलाको शव फेला परेको छ । सोमबार बिहान साढे ६ बजे झापाको अर्जुन्धारा नगरपालिका–१० घर भई वडा नम्बर ६ बिहानी टोलमा डेरामा बस्ने एक महिलाको शव फेला परेको हो ।
४५ वर्षीया सावित्रा बिक डेराबाट करिब एक सय मिटर पर मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए ।
स्थानीयले बिकलाई मृत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय अनारमनीमा खबर गरेका थिए । खबर पश्चात प्रहरी नायब उपरीक्षकसहितको टोली घटना स्थल पुगेको थिए ।
ट्रान्सफर्मर रहेको विद्युतीय पोलमुनि बिकको शव भेटिएको थियो । उनको करेन्ट लागेर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । तर यो कुरा पोष्टमार्टमपछि मात्रै पुष्टि हुने प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो ।
बिकको काँधको भागमा ट्रान्सफर्मरको अर्थिङ गरिएको तारले छोएको थियो । काँधका केही भाग जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
विद्युत प्राविधिक कर्मचारीलाई घटनास्थलमा बोलाएर परीक्षण गर्दा तारबाट करेन्ट प्रवाह भएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले शवको पोष्टमार्टमको लागि मेची अस्पताल भद्रपुर पठाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
