
पूर्णपुष्टि, जेष्ठ २१
विभिन्न जनावरहरुबाट तरकारीबाली संरक्षण गर्न लगाएको तारमा अल्झीएर सप्तरीमा एकजना महिलाको ज्यान गएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ तरहीका रामबृक्ष रायकी श्रीमती ५५ वर्षीया इनरदेबी रायको बिहीवार करेन्ट लागेर ज्यान गएको हो ।
स्थानीयवासीका अनुसार सुँगुर, स्याललगायतका जनावरबाट तरकारीबालीको सुरक्षार्थ घेरबार गरी बिछ्याइएको बिजुलीको तारमा अल्झीएर करेन्ट लागेर महिलाको ज्यान गएको थियो । घरमा पाहुनासँग श्रीमान बसिरहेको बेला इनरदेबी तरकारी टिप्न खेत गएकी थिइन् । केही दिन अगाडी उक्त पासोमा परेर एउटा स्याल मरेको गाउँहरुले जानकारी दिए ।
घटनास्थलमै ज्यान गएको महिलाको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
