
पूर्णपुष्टि, चैत ७
भारतको कारागारमा कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक) जेलमुक्त भएको छ ।
माई नगरपालिका–१० लुम्बाकका तिम्सिना सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेको थियो । उनीमाथि लागेको आरोप प्रमाणित भने भएको छैन । दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।
उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार आदेश दिएको थियो । नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि कोलकाताको दमदम कारागारले मुक्त गर्ने प्रक्रिया शुरु गरी जेलमुक्त गरेको जनाईएको छ ।
भाइ प्रकाशचन्द्र र कोलाकातामा रहेको नेपाली महावाणिज्य दूतका निजी सचिव सतिश थापाको रोहबरमा दुर्गाप्रसादलाई कारागारमुक्त गरेको जनाईएको छ । मुद्दा दर्ता भए पनि प्रहरीले अदालतको सुनुवाइ बिना नै दुर्गाप्रसाद तिम्सिनालाई जेलमा राखेको थियो ।
