Tuesday, June 16News That Matters

तीन महिने एडभान्स सिलाइकटाइ तालिम सम्पन्न, प्रविधी नहुनेलाइ मेसिन हस्तान्तरण

पूर्णपुष्टि/उदयपुर, असार २ गते ।

मोडर्न टेक्निकल विजिनेश एण्ड ट्रेनिङ सेन्टर प्रालि उदयपुरको आयोजनामा तथा कोशी प्रदेश सरकारको सहयोग र त्रियुगा नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको तीन महिने एडभान्स सिलाइकटाइ तालिम सम्पन्न भएको छ।

गाईघाटमा आयोजित तालिमको समापन समारोह संस्थाकी प्रमुख ज्ञानु प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गितादेवी रेग्मी प्रमुख अतिथि तथा घरेलु तथा साना उद्योग महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष मधुकर थापा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

तालिममा त्रियुगा नगरपालिकाका २२ जना महिलाको सहभागिता रहेको थियो। तीन महिनासम्म सञ्चालन गरिएको तालिममार्फत सहभागी महिलाहरूलाई सिलाइकटाइ सम्बन्धी उन्नत सीप प्रदान गरिएको आयोजकले जनाएको छ।

समापन समारोहमा तालिम सफलतापूर्वक पूरा गरेका सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। साथै आर्थिक अवस्था कमजोर भई सिलाइकटाइ व्यवसाय सञ्चालनका लागि आवश्यक प्रविधि तथा उपकरण नभएका ५ जना महिलालाई सिलाइकटाइ मेसिनसमेत प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रममा बोल्दै संस्थाकी प्रमुख ज्ञानु प्रधानले महिलाहरूलाई सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बताइन्। उनले सीपलाई व्यवसायमा रूपान्तरण गरी आयआर्जनमा जोडिन सहभागी महिलाहरू सफल हुने विश्वास व्यक्त गरिन्।

प्रमुख अतिथि प्रदेश सभा सदस्य गितादेवी रेग्मीले सीपमूलक तालिमले महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै सिकेको सीपलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न सहभागीहरूलाई आग्रह गरिन्।

 

तालिम प्राप्त गरेपछि सहभागी महिलाहरूले खुसी व्यक्त गर्दै सिकेको सीपले आफ्नै व्यवसाय सञ्चालन गर्न तथा परिवारको आर्थिक अवस्था सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। आयोजकका अनुसार यस्ता सीपमूलक कार्यक्रमले महिलाहरूलाई आत्मनिर्भर र उद्यमशील बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।