Sunday, June 14News That Matters

त्रिदेशीय प्रधानमन्त्री कपमा आज नेपालले लाओससँग खेल्ने

पूर्णपुष्टि, चैत ८ । आज त्रिदेशीय प्रधानमन्त्री फुटबल कपमा नेपालले लाओससँग खेल खेल्न लागेको हो । आज (बुधबार) पहिलो खेलमा नेपालले लाओससँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र लाओसबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ । खेल हेर्नका लागि साधारण प्यारापिटतर्फ ५ सय र भीआईपी प्यारापिटतर्फ १ हजार टिकट शुल्क तोकिएको छ । आजको खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।

फिफा विन्डोको समय पारेर भुटान र लाओस टिमलाई आमन्त्रण गरी त्रिदेशीय फुटबल प्रतियोगिता आयोजना अखिल नेपाल फुटबल संघ (एन्फा) ले गरेको हो । नेपालले लाओससँग सन् २०१६ यता पहिलोपल्ट खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको फाइनल खेलमा २–२ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टी शुटआउटमा नेपालले लाओसलाई ३–० ले हराएको थियो

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताबाट नेपालको टोलीलाई नयाँ प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले सम्हाने भएका छन् । अब्दुल्लाह अल्मुताइरीको राजिनामा पछि एन्फाले गत फागुन ११ गते एनेसलाई राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त गरेको हो । राष्ट्रिय टिमका अधिकांश खेलाडीहरु बिदेश पलायन भएपछि नयाँ प्रशिक्षकले टिममा ७ जना नयाँ खेलाडीलाई समावेश गरेको छ । मंगलबारको पत्रकार सम्मेलनमा एनेसले छोटो समयमा उपलब्ध उत्कृष्ट खेलाडीहरु समेटेर नयाँ चुनौतीको सामना गर्न आफुहरु तयार रहेको बताएका छन् ।

नेपालले १४ चैतमा भुटानसँग खेल्नेछ । तीन टिमबीच एकअर्कासँग खेलेपछि प्राप्त अंकका आधारमा शीर्ष दुई टिमले १७ चैतमा फाइनल खेल्नेछन् । प्रतियोगिताको उपाधि विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले ३ हजार अमेरिकी डलर पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र हरेक खेलको प्लेयर अफ द म्याचले २५० अमेरिकी डलर पुरस्कार पाउनेछन् । पुरस्कार रकम राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सहयोग गरेको हो ।