
पूर्णपुष्टि, बैशाख ७
त्रियुगा नगरपालिका १३ नं वडाले जनप्रतिनिधिको पाँच बर्षिय कार्याकालको प्रगति प्रतिवेदन प्रस्तुत गरेको छ । वडाले पुस्तक मार्फत आफ्नो पाँच बर्षिय विकास योजनाको प्रगति प्रतिवेदन प्रस्तुत गरेको हो । प्रगति प्रतिवेदन परामर्शदाता विनोद कुमार कार्कीले प्रस्तुत गरेका थिए । प्रगति प्रतिवेदन अनुसार वडाले ५ वर्षमा वडागत बजेट ४ करोड १३ लाख २५ हजार र विभिन्न विकास साझोदारबाट ४२ करोड, ३९ लाख ६८ हजार ८६३ गरी जम्मा ४६ करोड ५२ लाख ९३ हजार ८६३ बजेट वडाको विकासमा लगानी गर्न सफल भएको जनाएको छ ।
वडाले भौतिक पूर्वाधार विकासदेखि छिटो छरितो सेवा प्रवाह र सुशासनसम्मको कुरालाई १२ बुँदामा प्राथमिकताको क्षेत्र निर्धारण गरेर पाँचवर्षे कार्यकाल पुरा गरेको छ । कृषिमा आधुनिकीकरण र ब्यवसायिकरण, सीप र प्रविधीयुक्त तालिम सन्चालन र रोजगारी विकास, खानेपानी तथा सरसफाई, जेष्ठ नागरिक सम्मान, महिला, बालबालिका, आदिबासी, जनजाती तथा पिछडावर्ग लक्षित कार्यक्रम, जलश्रोत र उर्जा विकास, स्वास्थ्य पोषण र खाद्य सुरक्षा, सर्बसुलभ गुणस्तरीय शिक्षा, युवा तथा खेलकुद विकास, वातावरण सन्तुलन, जलबायु परिवर्तन अनुकुलन र विपद् ब्यवस्थापन लगायतका कुरा प्राथमिकीकरणमा समेटिएका छन् ।

विगत ५ वर्षको अवधिमा वडाभित्र ३८ किलोमिटर ११० मिटर सडक निर्माण भएको छ । जसमध्ये ११ किलोमिटर, १०० मिटर कालोपत्रे, ८ किलोमिटर ६७० मिटर कच्ची सडक र १८ किलोमिटर ३४० मिटर ग्राभेल सडक रहेको छ । ५ हजार ५७८ मिटर सडक नाला, २ हजार २०० मिटर तटबन्ध, ५ वटा पक्की पुल र १४ वटा कल्भर्ट निर्माण भएका छन् । ९ वटा ट्रान्सफर्मर जडानसहित ३८ किलोमिटर विद्युत प्रशारण लाईन विस्तार भएको छ भने विभिन्न ५ वटा सिचाई आयोजनाबाट ३५१ विगाहा जमिन सिंचित बनेको छ । वडामा सुविधा सम्पन्न बर्थिङ सेन्टरसहतिको आधारभुत स्वास्थ्य केन्द्र सन्चालनमा रहेकाले स्वास्थ्यमा वडाबासीको पहुँच पुगेको छ ।

वडाले एक घर एक पुस्तक वितरण गर्ने समेत जनाए । करिब १६ सय बराबर प्रकाशित गरिएको पुस्तकले वडाको विकास र आयोजनाहरु बारे प्रश्नको उत्तर दिने गरि तयार गरिएको त्रियुगा नगरपालिका १३ का वडाअध्यक्ष पशुपति चौधरीले जनाईन् । उनले हिजोको घोषणा पत्रको प्रतिवद्धताको सम्पूर्ण उत्तरहरु आउने गरी विकास गरिएको बारे पुस्तकमा छर्लङग हुने जनाईन् । प्रतिवेदन सँगै वडाको विकास गतिविधिको डकुमेन्ट्री र जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।
पुस्तक सार्वजानिक र सम्मान कार्यक्रम त्रियुगा नगरपालिका १३ नं वडाको आयोजनामा गरिएको थियो भने पूर्णपुष्टि मिडियाले तयार पारिएको बृत्त चित्र सँगै सार्वाजानिक सुनुवाई पनि सोही कार्यक्रममा गरिएको थियो ।

