पूर्णपुष्टि, पुष २२ । बिगत दुईवर्षदेखि काम रोकिएको निर्माणाधीन मदन भण्डारी स्मृति सभाहल तथा अतिथि गृहको निर्माण कार्य सुरु हुने भएको छ । त्रियुगा नगरपालिका–१३, ह्वाई फिल्ड नजिक निर्माणधीन भवनको दोस्रो फेजको बजेट व्यवस्था संगै आगामी पुषको दोस्रो सातादेखि निर्माण कार्य सुरु हुने भएको हो । भवनको लागत स्टमेट ३४ करोड रहेकामा २४ करोड ९ लाखमा ठेक्का सम्झौता भएको थियो ।
निर्माणको चरणमा पहिलो फेजको काम सकिएपछि बजेट अभाव र अन्य प्राविधिक कारणले गर्दा उक्त भवनको निर्माण कार्य रोकिन पुगको थियो । बिगत दुई वर्ष अघि नै पहिलो चरणको निर्माण कार्य सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय राजविराजको रेखदेखमा सम्पन्न भइसकेको छ ।
आगामी डेढवर्षभित्र योजनको काम सम्पन्न गरीसक्ने गरी सुनकोसी कन्स्ट्रक्सनले ठेक्का लिएको आयोजना कार्यालयका इन्जिनियर सुशील चौधरीले बताए । गत मंसिर १३ गते सम्झौता गरेर २०८० साल जेठ १४ गतेभित्र योजना सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्नेगरी सम्झौता भएको छ।
२ बिघा क्षेत्रफलमा अवस्थित सभाहलमा व्यवस्थित पार्किङ, पुरुष–महिला र अपांगमैत्री शौचालय, अतिथि सदन, चमेना गृह, कर्मचारी आवास हुने इस्टिमेटमा छ । १ हजार ५ सय क्षमताको ठूलो र ५ सय क्षमताको सानो गरी २ वटा सभाकक्ष हुनेछन् । भूमिगत पार्किङ, फूलबारी र पश्चिमतर्फ मुख्य प्रवेशद्वार तथा बाँकी दिसातर्फ वहिर्गमनद्वार हुने इस्टिमेट छ ।
