
पूर्णपुष्टि,फागुन २५
त्रिशूली नदीमा सिमेन्ट बोकेको ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान पौने १ बजे बेनिघाट रोराङ गाउँपालिका–१० तिङग्राङखानीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा ट्रक खस्दा चालक र सहचालको मृत्यु भएको हो ।
रूपन्देहीबाट काठमाडौं जादैं गरेको ट्रक खस्दा चालक काभ्रे बनेपा नगरपालिका नालाका ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । 
प्रहरीका अनुसार उनीहरूको ट्रककै क्याबिनमा थिचिएर मृत्यु भएको हो । क्याबिनमा च्यापिएका उनीहरूको शव प्रहरीले तीन घण्टा लगाएर निकालेको थियो ।
पोस्टमार्टमको लागि दुबैको शव प्राथमिक स्वास्थ्य केन्द्र गजुरी पठाइएको छ । घटना के कसरी भएको भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


