Saturday, May 16News That Matters

थारु सिंगिङ स्टारको गाईघाट अडिशनमा १४ जना छनौट

उदयपुर, माघ १२ गते ।  

थारु सिंगिङ स्टार प्रथम संस्करणको गाईघाटमा भएको पहिलो अडिसनमा १४ जना छनौट भएका छन् । शनिबार भएको पहिलो अडिसनबाट १४ जना छनौट भएका हुन् ।

स्टारको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाकी उप–मेयर देवीकुमारी चौधरीले थारु प्रतिभा पहिचानको माध्यम भएकोले यस कार्यक्रमले निरन्तरता दिन आग्रह गरेकी छिन् । कार्यक्रमलाई सहयोग गर्न त्रियुगा नगरपालिकाले जुनसुकै सहयोग गर्ने प्रतिवद्धतासमेत चौधरीले जनाएकी छिन् ।

आधुनिक गीत मात्र नभएर थारुको पौराणिक गीतहरुको पनि पहिचान गरी संरक्षण गर्न आवश्यक रहेको उप–मेयर चौधरीले बताईन् । कला क्षेत्रमा सवै भन्दा बढी थारुको नै पौराणिक गीतहरु धुमरा नाच, विरहैन, चाँचैर, फगुवा, समाचकेवा लगायतको बाह्र माहिनामा गाईने गीतहरु भएकोले यसको संरक्षणमा विवेकशील थारु युवा समूहले ध्यान दिनु पर्ने उनले बताईन् ।

केहि वर्षदेखि नगर भित्र रहेका थारुहरुले मनाउने जितिया, समाचकेवा, माघी पर्व एक ठाउँमा नभई गाउँ गाउँमा मनाउदै आएको उप–मयेर चौधरीले बताए । यस्ता कार्यक्रमहरुलाई एकिकृत गरेर नगरमा एकै ठाउँमा संचालन गर्नु पर्ने उनले बताईन् ।

त्यस्तै त्रिनपा–१ का वडाध्यक्ष मनोजकुमार चौधरी र ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरी, ले कार्यक्रम सफलताको शुभकामना दिँदै आफुहरुले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रम प्रदेश १ अन्तर्गत बसोबास गर्ने थारु गायन प्रतिभा भएका युवाहरुलाई लक्षित गरी सिंगिङ स्टारको आयोजना गरिएको संस्थाका सचिव वीरबल गच्छदारले बताए । माघ १४ गते झुम्का, १८ गते मोरङको नेता चोक, २४ गते विर्तामोड र २६ गते दुहवीमा अडिसन कार्यक्रम रहेको उनले बताए ।

अनुसार कार्यक्रमले थारु समुदायमा लुकेर रहेका थारु गायन प्रतिभालाई पहिचान गरी उजागर गरि प्रोत्सहान गरिने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । सिंगिङ स्टारका विजेता तथा उपविजेतालाई नगद, ताज सहित थारु तथा नेपाली गीत गाउनमा चान्स दिइने सचिव गच्छदारले बताए ।

अडिशन शोहरुका निर्णायक गायक तथा संगीतकार विभास चौधरी, गायक आर.सी. चौधरी, प्रकाश माझी, गीता चौधरी, सुनिल माझी र प्रज्वलदिप विश्वास रहेका छन् । अडिशनमा छनौट भएका प्रतिभाहरुलाई अन्य चरणको लागि पछि सम्पर्क गरिने कार्यक्रम निर्देशक प्रज्वलदिप विश्वासले बताए ।

गायन कलालाई मर्यादित बनाउँदै व्यवसायीक वनाउन पहल गर्दै अग्रज व्यक्तिहरुको समानसंगै नयाँ पुस्तालाई अवसर प्रदान गरी कलाकारहरुका लागि संस्थागत विकास गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ । अडिशनमा सरोज चौधरी, राम चौधरी, विनोद चौधरी, रुपा चौधरी लगायत १४ जना छनौट भएको आयोजकले जनाएको छ । अडिशन शोबाट छनौट भएका प्रतियोगिहरुलाई पहिलो, दोस्रो गर्दै पाँचौं चरण हुँदै पाइनल चरणमा तीन जना प्रतियोगि छनौट गरिने छ । छनौटमा परेका प्रतियोगिताबाट नै थारु सिंगिङ स्टारको ताज पहिरिने छ ।