
पूर्णपुष्टि, जेठ २७ गते ।
सन् २०२० मा कोरोनाको महामारीका बीच दक्षिण एसियाली मुलुकहरूमध्ये नेपालको आर्थिक वृद्धिदर तुलनात्मक रुपमा सबैभन्दा माथि रहने विश्व बैङ्कले अनुमान गरेको छ ।
यो वृद्धिको प्रक्षेपण आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले प्रक्षेपण गरेको अनुमान भन्दा निकै तल छ । सरकारले आगामी वर्ष सात प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेपनि विश्व बैङ्कले सन् २०२०मा १.८ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।
विश्व बैङ्कले गरेको प्रक्षेपण अनुसार सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर मात्र २.१ प्रतिशतमा खुम्चिने छ ।
कोरोनाको महामारीले पर्यटनमा आधारित अर्थतन्त्र भएका मुलुक सबैभन्दा नराम्रोसँग प्रभावित हुने भएको छ । दक्षिण एसियाली मुलुकमध्ये सन् २०२० मा माल्दिभ्सको अर्थतन्त्र सबैभन्दा ऋणात्मक रहने प्रक्षेपण छ । यो मुलुकको आर्थिक वृद्धिदर १३ प्रतिशतमा ऋणात्मक देखिने भएको छ ।
माछाको व्यापार र पर्यटनमा आधारित यो देशमा अर्थतन्त्र सन् २०२१ मा भने उल्लेख्य सुधारको प्रक्षेपण गरिएको छ । दक्षिण एसियामा अफगानिस्तान, भारत, श्रीलंका र पाकिस्तानको अर्थतन्त्रसमेत ऋणात्मक हुने प्रक्षेपण विश्व बैङ्कले गरेको छ ।
विश्व अर्थतन्त्रबारे विश्व बैङ्कले गरेको अध्ययनको निष्कर्ष सार्वजनिक गर्दै विश्व बैङ्कले सन् २०२० मा भारतको अर्थतन्त्रमा ३.२ प्रतिशतको गिरावट आउने अनुमान गरेको छ । भारतीय अर्थतन्त्रको दृष्टिकोणबाट यो विशाल खाडल हो ।
भारतले सन् २०२१ मा भने यो खाडल पुर्नसक्ने अनुमान गरिएको छ । सन् २०२१ मा भारतले फेरि ३.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य छ ।
दक्षिण एसियाका सबै मुलुक मध्ये २०२० मा नेपालमाथि रहने प्रक्षेपण विश्व बैङ्कले गरेको छ । यसका बाबजुद दक्षिण एसियाको आर्थिक वृद्धि २.७ प्रतिशतले संकुचनमा आउने भएको छ । सन् २०२१ मा यो संकुचनमा सुधार आउने अनुमान गरिएको छ ।
नेपालसहित दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसबाट प्रत्यक्ष प्रभावित हुने जनसंख्या कम छ । तर यसको रोकथामका लागि सरकारहरूले अपनाएको विधिबाट अर्थतन्त्र बढी प्रभावित भएको विश्व बैङ्कले जनाएएको छ ।
खासगरी पर्यटकीय गतिविधि शून्यमा झरेको, निर्यातमूलक उद्योग प्रभावित बनेको र अल्पकालीन आर्थिक गतिविधिमा भएको रोकावटले अर्थतन्त्रमा प्रभाव पारेको हो ।
महामारीबाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित बन्यो, जसले गर्दा अर्थतन्त्रमा पर्यटनको ठूलो हिस्सा रहेका भुटान, नेपाल, श्रीलंका र माल्दिभ्सको अर्थतन्त्रमा उच्च गिरावट आएको विश्व बैँङ्क जनाएको हो ।
नेपालसहितका देशको अर्थतन्त्रमा पर्यटन र यससँग जोडिएका आर्थिक क्रियाकलापले जीडीपीमा २ तिहाइसम्म हिस्सा ओगटेको विश्व बैङ्कले अनुमान गरेको छ । उद्योग क्षेत्र प्रभावित हुँदा ठूला औद्योगिक मुलुकमध्ये पर्ने भारत, बंगलादेशलगायत मुलुकको अर्थतन्त्रमा प्रभाव परेको हो ।
