Sunday, June 28News That Matters

दलित पत्रकार संघको अध्यक्षमा पहाडी

पूर्णपुष्टि, चैत १

राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाविधेशनले विनोद पहाडीको नेतृत्वमा ४१ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

बुटवलमा फागुन २८ देखि सुरु भएको महाधिवेशनले दुई वर्षे कार्यकालका लागि पहाडीको नेतृत्वमा ४१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

तीन दशकदेखि पत्रकारितामा संलग्न पहाडी संविधान सभा सदस्यसमेत हुन् । संघको वरिष्ठ उपाध्यक्षमा गोपाल बराइली,उपाध्यक्ष (महिला) मा कमलाकुमारी विक, उपाध्यक्षमा मिलन परियार तथा प्रदेश उपाध्यक्षहरुमा पर्वत पोर्तेल (१),भोला पासवान (२), बुद्धि विश्वकर्मा (बागमती), दीपक परियार (गण्डकी), विनोद परियार (लुम्बिनी),टेकेन्द्र विश्वकर्मा (कर्णाली र करण ताम्राकार (सुदूरपश्चिम) चयन भएका छन् ।

संघको महासचिवमा लक्ष्मण दर्नाल,सचिवहरुमा सन्तोष गन्धर्व,बिरु नेपाली, शिकेन्द्र पासवान र रिता बुढाथोकी तथा कोषाध्यक्षमा भिम घिमिरेचयन भएका छन् ।

महाधिवेशनमा संघले टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट कलेन्द्र सेजुवाल र बृजलाल पासवान, देवब्रत परियार स्मृति पुरस्कार रुपन्देहीकी मिना ढकाल, राममाया च्यामे लोक पुरस्कार विष्णु निष्ठुरी,परशु सवरी पत्रकारिता पुरस्कार मानसिंह विश्वकर्मा र राम सोवि सामाजिक पत्रकारिता पुरस्कार प्रेम सुनारलाई प्रदान गरेको छ । यस्तै लोकदोहोरी गायक राजु परियारलाई पनि संघले सम्मान गरेको छ ।

देशभरबाट करिव ४ सय पत्रकारहरुको सहभागिता रहेको महाधिवेशनमा ‘आमसञ्चार र समावेशिताको सवाल’, ‘मिडियामा महिला र दलित महिला’ र ‘दलित आन्दोलन युवा र आम सञ्चार’ विषयमा छुटाछुट्टै कार्यशाला गोष्ठी भएको थियो ।

संघको हालसम्म ६५ जिल्ला शाखा, ७ प्रदेश र काठमाडौँ उपत्यका समितिहरु क्रियाशील रहेका र देशभर झण्डै १५ सय दलित समुदायका पत्रकारहरु आवद्ध भइसकेको जनाएको छ । संघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय, समावेशी विकासका साथै सूचनाको हक कार्यान्वयनको सवालमा भूमिका खेल्ने जनाएको छ ।