Wednesday, April 22News That Matters

दशैमा कृतिम अभाव, कालाबजारी, तस्करी गर्नेलाई कडा कारवाही हुने प्रशासनको चेतावनी

पूर्णपुष्टि÷उदयपुर, असोज ८ । जिल्ला प्रशासन कार्यालय उदयपुरले चाँडपर्वमा हुने अत्याधिक मूल्यबृद्धि, कृत्रिम अभाव, कालाबजारी, तस्करी, म्याद गुज्रेका खाद्य पदार्थ तथा मासुजन्य बस्तुहरुको विक्री वितरण नगर्न सचेत गराएको छ । प्रशासनले आज सर्बपक्षीय बैंठक बसी उपभोक्ताहरुलाई सचेत गराएको हो ।

दशैं र त्यस लगत्तैको तिहार, छठ पर्व जस्ता चाँडपर्वमा ब्यापार, ब्यवसायको नाममा यसरी उपभोक्तालाई मार्का पार्ने र उनीहरुको स्वास्थ्यसमेतमा प्रतिकुल असर पार्ने गरेको पाइएकोले यसवर्षको चाँडवाड पूर्वनै सचेत गराइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले बताउनुभयो । उहाँले आज जिल्लाका सबैजसो सरोकारवाला निकाय, सुरक्षा निकाय, पत्रकार, उद्योग वाणिज्य संघ, विभिन्न ब्यवसायीहरुका प्रतिनिधिलाई सर्बपक्षीय बैंठक गराई उपभोक्तामाथि यस्तो अवस्था आउन नदिन सचेत गराउनुभएको हो ।

बैंठकले पहिलो निर्णयकै रुपमा यस कुरालाई प्राथमिकतामा राखेको छ । उपभोक्ता ठगिनसक्ने सम्भावनालाई मध्येनजर गर्दै प्रशासनले जिल्लाका सरोकारवाला सरकारी कर्यालयहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, घरेलु तथा साना उद्योग कार्यालय, कृषि ज्ञान केन्द्र, करदाता सेवा कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सबै पालिकालाइ समेत प्रभावकारी बजार अनुगमन गर्न निर्देशन दिएको छ । बजारमा उपभोक्तालाई विभिन्न हिसावले ठगेको पाइएमा कडा कारवाही गर्ने प्रशासनको चेतावनी छ । यो वा त्यो वाहानामा गल्ती गर्नेले कारवाही भोग्नुपर्ने बताइएको छ ।

चाँडबाडको बेलामा चिनी, तेल लगायतका दैनिक उपभोक्त खाद्य बस्तुहरुमा मूल्यबृद्धि, कृत्रिम अभाव, कालाबजारी, तस्करी हुने गरेको त्रियुगा उद्योग बाणिज्य गाईघाटका अध्यक्ष नविन बस्नेतले बताउनुभयो । म्याद गुज्रेका खाद्य बस्तुहरु भने शहरबाट गाउँघरतिर पठाउने गरेको पाइएको छ । गाउँघरमा चाउचाउ, विस्कृट जस्ता खाद्यबस्तुहरुको म्याद नहेरी खाने चलन रहेकाले यतिबेला बढि गाउँमा पठाउने दाउ गरेको पाइन्छ ।