Thursday, May 28News That Matters

दार्चुलामा कालाजारका बिरामी फेला

पूर्णपुष्टि, बैशाख ५ गते ।

दार्चुलामा कालजारका बिरामी फेला परेको छ । बिहीबार दार्चुला अस्पतालमा उपचारका लागि आएका मालिकार्जुनका एक जनामा कालाजार भएको फेला परेको हो ।

लामो समयदेखि ज्वरोले सिकिस्त देखिएका ५० वर्षीय पुरुषमा कालाजार भेटिएको जिल्ला अस्पतालले जनाएको छ । उनलाई थप उपचारका लागि सुदूरपश्चिम प्रादेशिक अस्पताल धनगढी सिफारिस गरिएको अस्पतालले जनाएको छ ।

मलेरिया, कालाजारजस्ता ज्यानै जोखिममा पार्ने रोगहरुको सङ्क्रमण हिमाली जिल्ला दार्चुलामा समेत देखापरेको छ ।

जलवायु परिवर्तनका कारण जीवजन्तु, जीवाणु र परजिवीहरुले समेत बसाइँसराइ गर्न थालेपछि पहाडमा कालाजारका बिरामी भेटिन थालेको छ । तराईका जिल्लामा पाइने लामखुट्टे, भुसुनाजस्ता परजिवीको बिगबिगी पछिल्लो समय पहाडी जिल्लामा समेत बढ्दै गएको छ ।

दार्चुलामा विसं २०७५ मा चार जना कालाजारका बिरामी भेटिएका थिए । यसअघि कालाजारका कारण एक जनाको जिल्लामै ज्यान गएपछि क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट टोली आएर अध्ययनसमेत गरेको थियो ।

कालाजार रोग लागे हल्का ज्वरो आउने, तौल घट्ने, थकान महसुस हुने, खानामा रुचि नहुने, रक्तअल्पता हुने, कलेजो तथा फियोको आकारमा वृद्धि हुने, छालाको रङ गाढा हुँदै जानेजस्ता लक्षणहरु देखापर्ने चिकित्सकहरुले बताएका छन् ।

कालाजार एक प्रकारको भुसुना (स्यान्डफ्लाइ) ले टोकेर हुने सरुवा रोग हो । रोगीलाई टोकेको भुसुनाले स्वस्थ्य व्यक्तिमा टोके यो रोग सार्ने गर्छ । लिस्मानियाबाट सङ्क्रमित पोथी भुसुनाद्वारा मान्छेमा सर्ने रोग कालाजार हो ।

यो रोगबाट बच्न घर छेउछाउ सफा राख्ने, सुत्दा झुल प्रयोग गर्ने, साँझपख घरबाहिर बस्दा हातखुट्टा छोपिने लुगा लगाउनेजस्ता उपाय अपनाउन सकिने चिकित्सकहरुले सुझा दिएका छन् ।