Tuesday, April 21News That Matters

दुवै मृगौला फेल भएका उदयपुरका रामबाबु तामाङ सहयोगको याचना गर्दै

पूर्णपुष्टि, असोज १ ।

उदयपुरको उदयपुरगढी गाउँपालिका ४ ढुंग्रेका ३५ वर्षिय युवा रामबाबु तामाङको दुबै मृगौला फेल भएको छ । आर्थिक अवस्था अति नाजुक रहेका तामाङको बैदेशिक रोजगारबाट फर्किए लगत्तै मृगौला फेल भएको थाहा भएको हो । विदेशमा राम्रो कमाई नभएपछि रित्तो हात फर्किएका तामाङलाई उपचारमा  समस्या परेको छ । खर्चको अभावका कारण उपचारमा समस्या परेको हो ।
उनको दुबै मृगौला काम नलाग्ने अवस्थामा पुगेकोले कम्तिमा पनि एउटा फेर्नुपर्ने अवस्था छ । हाल काठमाडौंमा उपचारको क्रममा रहेका छन् उनी । गाउँघर, छरछिमेकबाट उठाएको सहयोग तथा परिवारहरुको सहयोगमा डायलासिससम्मको उपचार चलिरहेको छ । मृगौला प्रत्यारोपणकै लागि ठूलो खर्च लाग्ने भएको छ । हाल उनको उपचार चलिरहेको निदान हस्पिटल पुलचोकमा पनि प्रत्यारोपन हुने बताइएको छ । त्यसका करिब दश लाख खर्च हुने बताइएको छ । यतिका खर्च जम्मा गर्ने हैसियत तामाङको परिवारमा नरहेको विरामीका ठूली दिदी विन्दाकुमारी तामाङले बताउनुभयो ।

भाइलाई बचाउन सबैसंग सहयोगको अपिल गर्दै रातदिन सहयोग संकलनमा खटिरहेका दिदी विन्दाकुमारी जसरी भएपनि भाइलाई बचाउन चाहन्छिन् । “मेरो भाइको जीवन बनाउन सबैसंग सहयोगको अपिल गर्दछु” विन्दाकुमारीले भन्नुभयो ।

अर्की दीदी वविता तामाङ काठमाडौंमै बसेर भाइको रेखदेख त गरिरहेकी छिन् तर अव खर्चको अभावले कसरी उपचार अगाडी बढाउने भन्ने कुरामा चिन्तित बनेकी छिन् । उनले पनि आफन्त, सहयोगीमनहरुसंग सहयोगको अपिल गरेकी छिन् । “के गर्दा मेरो भाइको उपचारको खर्च जुट्छ, म यसै कुरामा चिन्तित छु ” वविताले भन्नुभयो । मिडिया गुहार्ने क्रममा इन्द्रेणी मिडियाले २० हजार सहयोग गरेको उहाँले बताउनुभयो ।

रामबाबुको मृगौला फेर्नका लागि उहाकै श्रीमती इन्द्रकुमारीको मिल्ने भएको छ । श्रीमानका लागि मृगौला दिन राजी हुनुभएको छ । एउटा मृगौला दिने उहाँकै श्रीमती तयार भइसकेको अवस्थामा अव १० लाख पैसा जुटाउन सक्दा रामबाबुको जीवन बच्ने भन्दै परिवार आर्थिक संकलनमा जुटेको छ ।
रामबाबुको समस्या देखेर सहयोग संकलनमा जुटिरहनु भएकी त्रियुगा नगरपालिका ५ की समाजसेवी रुपा तामाङले सहयोग संकलन अभियान नै गर्न लागेको बताउनुभयो । सबैको सहयोग जुटेमा दुई छोरी, एक छोरा र श्रीमती रहेका विरामी रामबाबुको जीवन बचाउन सकिने उहाँले बताउनुभयो  । रामबाबुलाई आर्थिक सहयोग गर्न इच्छुकहरुले ग्लोवल आइएमइ बैंकको खाता नं. ५०७०१००१०२७१ मा जम्मा गर्न सकिनेछ ।