
पूर्णपुष्टि, साउन १७ । देशभर हैजाको संक्रमण फैलिँदै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसिडी का अनुसार हालसम्म देशभर २२ जनामा हैजा पुष्टि भएको छ।
संक्रमितहरूको विवरण हेर्दा ललितपुरमा १४ जना, कैलालीमा ७ जना र काठमाडौंमा एक जना रहेका छन्। ललितपुरको गोदावरी नगरपालिका–१४ मा मात्रै १० जनामा हैजा देखिएको छ। यहाँको एक पुनर्स्थापना केन्द्रका १६ वर्षीय युवामा पहिलो पटक हैजा पुष्टि भएपछि अन्य ९ जनामा पनि संक्रमण फेला परेको हो।
काठमाडौंको टोखा नगरपालिकाका एक जना र कैलालीको धनगढी उपमहानगरपालिका–१ का ७ जनामा पनि हैजा पुष्टि भएको छ। इडीसिडी का अनुसार काठमाडौं उपत्यका र कैलालीमा देखिएको हैजा एक अर्कासँग सम्बन्धित छैन।स्वास्थ्य अधिकारीहरूले बर्खा याममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना बढी हुने भएकाले हैजासहित पानीजन्य रोगहरू फैलिने जोखिम उच्च रहने बताएका छन्। त्यसैले यस मौसममा खानेपानीको शुद्धतामा विशेष ध्यान दिन आम नागरिकलाई आग्रह गरिएको छ।
