
गोठकृष्ण ठकुरी
त्रियुगा नगरपालिका ३ मोतिगडा
बुढी, जब गुनासो नै भाग्यसँग भएपछि कसैसँग पनि दुःख पोख्ने मन नहुँदो रहेछ । गुमाउने केही नभएपछि भएको पीडा पनि आनन्दको हुँदोरहेछ । नोबेल शिक्षण अस्पताल, विराटनगरको इमरजेन्सी आइसियुमा निमोनियाको उपचार गरी रहेकी तिम्रो १६ घण्टा पछि आएको पिसिआर रिपोर्ट कोभिड पोजेटिभ थियो । गाउँघर भन्दा बाहिर कतै नगएकी तिमी कसरी कोभिड पोजेटिभ भयौ । त्यहाँ बस्ने हामी कसैको समझमा आएन । सबभन्दा बढि मैले आफुलाई शंका गरेँ । तिमी मैबाट संक्रमित भएकी हौ जस्तो लाग्यो ।
किनकी गाउँघर बाहिर बढि म नै हिड्थेँ । हल्लानुसार, मबाट नै संक्रमित भएकी हौ भन्ने बलियो कारण म दारु खाने मान्छे । त्यसैले मलाई केहि भएन तिमी चाहिँ संक्रमित भयौ । यसरी मैले आफुलाई दोषी ठह¥याउँदै शंकाको निवारण गरेँ । जे जस्तो गरी भएपनि सत्य चाहिँ तिमी कोभिड पोजेटिभ भयौ । जुन लडार्इँमा तिम्रो हार भयो । त्यहाँ तिम्रो मात्र हार भएन, बुढी । एउटा श्रीमानको जवान श्रीमति हारिन् । कलिला दुईबहिनी छोरीकी एउटी आमा हारिन् । जुन बालकको मुखबाट आमाको दुध समेत छुटेको थिएन, त्यो अबोध बालककी आमा पनि हारिन । बाआमाको जिन्दगीभरिको लागि मुटुको घाउ बनेर एउटी जवान छोरी हारिन् । हामी बाँचेकाहरुको हार भए पनि तिमी गएको ठाउँमा चाहिँ तिम्रो सँधै जीत होस् यहि कामना छ । बुढी, जब तिम्रो पिसिआर रिपोर्ट आइसियुको डेक्समा पु¥याएँ । तब तिमीलाई छिनछिनमा छाम्ने, मसार्ने, सोधपुछ गर्ने, दवाई पानी गर्ने नर्स डाक्टरहरु यसरी टाढा हुँदै गए जसरी चारो सकिएपछि कुखुराले आगन छाडेर पर आङ कन्याउँदै बस्छ ।
मलाई उनीहरु टाढा भएकोमा त्यति दुःख लागेन । किनकी बाहिर हल्ला नै त्यहि अनुसारको थियो । दुःख त यसमा लाग्यो, बिचरा ति डाक्टर नर्सहरु बिना सावधानी १६ घण्टा अघिदेखि तिम्रो उपचारमा खटिरहेका थिए । त्यो समयमा चाहिँ उनीहरु संक्रमित भए कि नाई । कि यो रोग रिपोर्ट आए पछि मात्र सर्ने हो कि ? थाहा भएन । त्यो जे सुकै होस् । एक, तिमी कोभिड पोजेटिभ थियौ, अर्को, तिमी आईसियुमा थियौ, अर्को डाक्टर नर्सले उपचार गर्न छाडिदिएका थिए । अर्को, तिम्रो लागि तत्काल चाहिने कोभिड आइसियुको वेड त्यहाँ खाली थिएन , अर्को त्यहाँबाट तिमीलाई तत्काल निकालेर लानुस् भन्ने डाक्टरहरुको दवाव, अर्को मलाई पोली सक्यो, दुखी सक्यो, किन दवाई नदेको भन्दै हातले इसारा गर्दै त्यहाँ गएर डाक्टर बोलाएर ल्याउनु भन्ने तिम्रो छटपटी र पीडा ।
घाँटीमा परेको गाँठोलाई जबरजस्ती ठेलठाल पार्थे । झरि बन्न खोज्ने आँसुको बादललाई दिमागको हावाले परपर पन्छाउँथे र तिम्रो सामु गएर भन्थेँ । अब तिमीलाई वेडमा लाने त्यसैले अहिले यहाँ तिमीलाई दवाई नदेको हो, एकैछिन सहेर बस है हामी वेडमा गईहाल्ने । मैले यसै भनेको थिए नि हैन बुढी । तिमी निको भएपछि त्यो सबै झुट थियो भन्दै सुनाउँला र हाँसौला भनेको थिएँ । बुढी, मैले त्यहीँ थाहा पाएको हुँ मन साह्रै कमजोर र दिमाग बलियो हुँदो रहेछ । र त मान्छेहरु दिमागको पछि लाग्दा रहेछन् ।
तिमीलाई छाम्दै, मसार्दै एकछिन है एकछिन भन्दै छिनछिनमा बोलाएर छिटो गर्नुस् कोभिडको बिरामीलाई यहाँ राख्न मिल्दैन भन्ने डाक्टरहरुलाई मेरो मान्छे वेडको खोजीमा गएको छ । वेड पाएपछि हामी लगिहाल्छाँै भन्दै एउटा वेड यहिँ मिलाई दिनुस न भन्ने अनुरोध गर्दै म यहाँ थिए । त्यस्तै कोभिड आइसियुमा खाली वेडको खोजीमा निस्किएकी तिम्रो बहिनी बिराटनगर कोभिड अस्पताल पुरै डुल्दा पनि आइसियु वेड खाली नपाए पछि, सिटी सफारी भित्रै रुदै हिँडेकी उनलाई सिटीवालाले सम्झाउँदै अस्पताल गेटसम्म छाडि दिएछ ।
यसरी दौडधुप, चिनेजाने जति सबैलाई फोन गरेर कोभिड आइसियुको खाली वेड उपलब्ध हुँदासम्म एकछिन एकछिन भन्दा भन्दै १० घण्टा वितेछ । समय, अवस्था र परिस्थितिलाई प्रथामिकिकरण नगरी शक्ति र नातावादमा लिप्त हुने हाम्रो नेपाली समाजमा त्यतिबेला मलाई लाग्यो, ठूलो मान्छे र नाता भनेको साँच्चै गतिलो चिज रहेछ । कोभिड आइसियु भित्रको व्यथा अर्कोपत्रमा भनौँला है बुढि, आजलाई यत्ति, मेरो बेबीको बैकुण्ठ बास होस् ।
लेखक ठकुरी उदयपुरका साहित्यकार, नाट्यकार तथा संञ्चारकर्मी समेत हुन् ।
