
पूर्णपुष्टि, चैत्र २७
नेपाल सरकार स्वास्थ्य तथा जनसंङख्या मन्त्रालयले २५ जना भन्दा बढीको भेलालाई रोक्न अनुरोध गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहर आएसँगै मन्त्रालयले भीडभाड कम गर्न र २५ जनाभन्दा बढी मानिस भेला नहुन आग्रह गरेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ’पछिल्लो समय लक्षणहरु अलि सिरियस, जटिल देखिएका छन् । मान्छेहरु बिरामी पर्दैमा त अस्पताल भर्ना गर्नु पर्दैन तर अहिले अस्पताल भर्ना गर्नुपर्ने बिरामीहरुको संख्या ह्वात्तै बढेको मन्त्रालयले जनाएको छ । ’
पछिल्लो समय देखिएका संक्रमित व्यक्तिहरुमा जटिल किसिमका लक्षणहरु देखा परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताउनुभयो । उहाँले अहिले नै कोभिड संक्रमण भएका धेरै बिरामीहरुलाई अस्पतालमा भर्ना गर्नुपरेको पनि बताउनुभयो ।
प्रवक्ता गौतमले स्कुल, कलेज, सिनेमा हल, पार्टी प्यालेस, जुलुसलगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको बताउनुभयो । अहिले देखिएका संक्रमितहरुमा जटिल प्रकृतिको लक्षण देखिएको र संक्रमण दर पनि बढेर गएकाले सावधानी अपनाउनुपर्ने बेला आएको गौतमको भनाई छ ।
