
पूर्णपुष्टि/उदयपुर, कार्तिक ५ ।
तिहारको रमाइलो माहौलसंगै आजदेखि भित्रिएको नयाँ नेपाल सम्बत् उदयपुरका नेवारी समुदायले विशेषरुपले मनाएका छन् । शुभकामना आदानप्रदान कार्यक्रम गाईघाटको पिपलचौकमा आयोजना गरी मोटरसाइकल र्यालीसहित नयाँ सम्बतको स्वागत गरिएको छ । विशेषरुपले नेवारी समुदायले मनाउने नेपाली नयाँ सम्बत् अर्थात नेपाल सम्बत ११४६ आजबाट सुरु भएको हो । “नेपाल सम्बत ११४६ न्हूदँया भिन्तुना (नयाँवर्षको शुभकामना) कार्यक्रम गरी नयाँवर्षको स्वागत गरियो ।” – शशि तुलाधरले भन्नुभयो । 
झिगु नेवाः पुचः गाईघाटको आयोजनामा उनीहरुले नेवारी पोशाकमा सजिएर बाजागाजा बजाउदै हर्षोउल्लास मनाएका छन् । संस्कार संस्कृती जगेर्नाका लागि सन्देश प्रवाह गर्दै मोटरसाईकल र्याली गाईघाटको मुख्यचौकदेखि मोतिगडा–बगहा–देउरी–जलजले–चुहाडे–राजाबास–गैरुन–आँखा अस्पताल हुँदै बोक्से –करमगाछी–सिमलटार–संगमटोलबाट पिपलचौक आइपुगेर समापन रहेको छ । र्यालीमा सहभागिहरुलाई विहानै पिपलचौकमा टिका सगुन गरिएको छ । आजको दिनलाई नयाँवर्षको सुरुवात, शुभदिन, विशेषदिनको रुपमा मनाउने चलन छ । यो समुदाय संस्कार, संस्कृती जगेर्नामा एककदम अगाडि मानिन्छ ।
तस्विर साैजन्य : शशि तुलाधर, गाइघाट


