
कात्तिक ५ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतीक्षित नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास गर्नुभएको छ । प्रधानमनित्र ओलीले सोमबार सुरुङमार्गको शिलान्यास गर्नु भएपछि औपचारिक रूपमा सुरुङमार्गको निर्माण सुरु भएको हो ।
सुरुङमार्गको शिलान्याससँगै नेपाल विकासले नयाँ युगमा प्रवेश गरेको र एक कदम अगाडी विकास बढेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
कुल लम्बाइ २.७ किलोमिटर रहेको सुरुङमार्गको निर्माण सम्झौता जापानको हाज्मा एन्डो कर्पोरेसनसँग असोज ६ गते सम्पन्न भइसकेको छ । दुईवटा फ्लाई ओभरसहित निर्माण हुन लागेको सुरुङमार्गको निर्माणका लागि करसहित करिब १५ अर्ब २५ करोड लागत लाग्ने भएको छ । सुरुङमार्गको निर्माण सम्झौता करबाहेक साढे १३ अर्ब रुपियाँमा भएको हो ।
प्रधानमन्त्रि ओलीले सुरुङमार्गको प्रयोग नेपालमा पहिलो पटक भएकाले यस प्रकारको विकासबाट मुलुकले नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्नु भएको छ । उहाले टोखा–छहरे, बेत्रावती–स्याफ्रुबेँसी लगायतका सुरुङमार्ग निर्माणलाई समेत द्रुत गतिमा अगाडि बढाइने बताउनुभयो ।
सुरुङमार्ग निर्माणको सहयोगका लागि जापान सरकार र जापानी जनताप्रति प्रधानमन्त्रि ओलीले आभार व्यक्त गर्नु भएको छ । उहाले तोकिएको समयमै सुरुङमार्गको निर्माण कार्य सम्पन्न हुने विश्वास लिएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले काठमाडौँ–निजगढ द्रुतमार्ग, हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्गको विस्तार, राजमार्गबाट सदरमुकाममा पुग्ने सडक द्रुत गतिमा निर्माण भइरहेको बताउनुभयो । उहाँले पर्यटन वर्ष–२०२० सफल बनाउन मुख्य सडकलाई राम्रो बनाउनुपर्ने आवश्यकतासमेत रहेको बताउनुभयो ।
थानकोटबाट पाँच मिनेटमै चित्लाङ पुग्ने सडक निर्माणका लागि सर्वे सुरु भइसकेको बताउँदै उहाँले बेनी–कोरला नाका सडक करिब करिब पूरा हुने अवस्थामा पुगेको जानकारी दिनुभयो । यस वर्ष मात्र २ सय ४३ वटा पक्की पुल, दुई सय झोलुङ्गे पुल निर्माण तथा १ सय २४ वटा तुइन विस्थापन गरिएको उहाँले बताउनुभयो ।
भौतिक पूर्वाधारको क्षेत्रमा सडकको मात्र निर्माण नगरि भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको, पोखरा विमानस्थलको काम ४० प्रतिशत सम्पन्न भएको, निजगढ विमानस्थलको काम सुरु हुन लागेको, पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात सुरु भएको प्रधानमन्त्रि ओलीले बताउनुभयो ।
चालू आर्थिक वर्षमा थानकोट–चित्लाङ, लामाबगर, सिद्धबाबा, खुर्कोटलगायत मुलुकका विभिन्न सातवटा सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले बताउनुभयो ।
निर्माण सम्झौतामा ४२ महिना उल्लेख गरिए पनि ३६ महिनाभित्रै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गरिएको मन्त्रि महासेठले बताउनुभयो । काठमाडौँ उपत्यकाको यातायातलाई थप व्यवस्थित बनाउन कोटेश्वर, नयाँ बानेश्वर, गौशाला, चाबहिल, कालीमाटी, त्रिपुरेश्वर र थापाथलीमा आधुनिक अन्डरपास र आकाशे पुल निर्माणका लागि मन्त्रालयले निर्णय गरी सैद्धान्तिक सहमतिका लागि सम्बन्धित निकायमा पेस गरिएको उहाले बताउनुभयो ।
सुरुङमार्ग निर्माणले नेपाल र जापानबीच सम्बन्ध अझ कसिलो हुने नेपालका लागि जापानी राजदूत मासामिची साइगोले विश्वास व्यक्त गर्नुभएको छ । सुरुङमार्गले नेपालको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सन् २०१५ मा प्रारम्भिक अध्ययन गरेको थियो भने यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सन् २०१८ मा तयार पारिएको थियो । त्यसैगरी सन् २०१६ मा जाइकासँग १६ अर्ब ६३ करोड रुपियाँको ऋण सम्झौता भएको थियो । शून्य दशमलव ०१ प्रतिशत ब्याजदरमा ४० वर्षभित्र फिर्ता गर्ने गरी सो ऋण सम्झौता भएको हो ।
कुल लम्बाइ २.७ किलोमिटर र चौडाइ (क्यारिज–वे) साढे नौ मिटरको हुने यस सुरुङमार्गको बीचमा डेढ मिटर चौडाइको ‘मेडियन’ र आधा आधा मिटरको दुईवटा ‘सोल्डर’ निर्माण गरिने छ । सुरुङमार्गको निर्माणमा अहिलेसम्मकै उच्चतम् प्रविधि प्रयोग गरिने आयोजनाले जनाएको छ । कामदारको सट्टा ‘मेसिन बेस’ भएर यो सुरुङमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ ।
सतुङ्गलबाट यस सुरुङमार्गको प्रवेशमार्गसम्म पुग्न दुईवटा ‘फ्लाई ओभर’ निर्माण गर्नुका साथै सातवटा पुल र ११ वटा बक्स कल्भर्ट निर्माण गरिने छ । त्यसैगरी सुरुङमार्गको प्रवेशद्वारनजिकै ‘मेन्टिनेन्स बिल्डिङ’, ट्राफिक अनुगमन प्रणाली जडान गरिने छ । त्यसैगरी सिस्नेखोलास्थित ४४ रोपनीमा अन्तर्राष्ट्रिय स्तरको सर्भिसिङ स्टेसन निर्माण गरिने छ । त्यसमा चमेनागृह, फ्युल स्टेसन, स्थानीयद्वारा उत्पादित सामग्रीहरूको प्रदर्शनी स्थल निर्माण गरिने छ ।
सुरुमार्ग भित्र हुनसक्ने सम्भावित दुर्घटनामा छिटो उद्धार गर्ने उद्देश्यसहित साढे नौ मिटरको सुरुङमार्गसँगै समानान्तर हुने गरी चार मिटरको ‘इभ्याकुएसन टनेल’ निर्माण गरिने आयोजनाले जनाएको छ । एम्बुलेन्स र मानिस जान आउने गरी निर्माण गरिने सो चार मिटरको सुरुङमार्ग हरेक ३ सय ५० मिटरमा ठूलो सुरुङमार्गसँग जोडिने छ ।
सुरुङभित्र दुर्घटना वा समस्या भएको अवस्थामा छिटोभन्दा छिटो उद्धार र बाहिर निस्कन मात्र यस सुरुङमार्गको प्रयोग गरिने छ । मुख्य सुरुङमार्गभन्दा तीस मिटरको दूरीमा रहने यो सुरुङमार्ग अरू बेला बन्द रहने आयोजनाले जनाएको छ ।
