
२७ माघ, २०८२ । उदयपुर
नारदमुनि थुलुङ स्मृति गोल्डकप फुटबल प्रतियोगिताको यो संस्करणले ऐतिहासिक सफलता र नाफा रेकर्ड राखेको छ । गत माघ १५ देखि २२ गतेसम्म उदयपुरको बसाहामा सञ्चालन भएको एघारौँ संस्करणले १९ लाख रुपैयाँ नाफा पाएको रेकर्ड राखेको हो । आज नारदमुनि थुलुङ रङ्गशालामा पत्रकार सम्मेलनको आयोजना गरी आयव्ययसहितको प्रगती प्रतिवेदनसहित सार्वजनिक गरियो । गोल्डकपले ४२ लाख १९ हजार ६३६ रुपैयाँ आम्दानी गरेको, जसमा २३ लाख १९ हजार १२३ खर्च भएको र १९ लाख ५१३ रुपैयाँ नाफा भएको जनाइएको छ । यो उदयपुरकै खेलकुद इतिहासमा ठूलो मात्रामा नाफाको रेकर्ड हो । “खेलको सफलतासंगै ठूलो मात्रामा नाफा पनि पाएका छौं । यो उदयपुरको खेलकुद इतिहासमा खास रेकर्ड हो ।” कार्यक्रम संयोजक सिद्धिराज राईले भने ।
विजेताले ५ लाख, उप विजेता ३ लाख र विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई पुरस्कृत गर्दा आठ लाख ६७ हजार खर्च भएको छ भने व्यवस्थापन तथा तयारीतर्फ खर्च भएको हो । आयतर्फ स्थानीय निकायबाट १३ लाख ५ हजार प्राप्त भएको छ । देशविदेशमा रहेका व्यक्तिहरूबाट १५ लाख ६६ हजार २ सय प्राप्त भएको छ भने संघसंस्था र प्राइभेट कम्पनीबाट पाँच लाख ५८ हजार ४७६ प्राप्त भएको छ ।
टोल विकास संस्थाहरूबाट दुई लाख ६१ हजार ४ सय रुपैयाँ, बसाहा सेवा समाज युकेबाट एकमुष्ट १ लाख ५० हजार, बसाहा सेवा समाज हङकङबाट १ लाख २० हजार भने गोर्खा सेक्युरिटी युनिट ब्रुुनाईबाट १ लाख दुई हजार प्राप्त भएको छ । निजी विद्यालयहबाट ९९ हजार ५५५ प्राप्त भएको छ भने सामुदायिक विद्यालयहरूबाट ६६ हजार ५ रुपैयाँ प्राप्त भएको जनाइएको छ ।
यो प्रगतिका लागि आयोजक बशाहा क्लब परिवार, समस्त बसाहावासी, चौदण्डीगढी नगरपालिका, वडाहरू र देशविदेशबाट सहयोग प्रदान गर्ने सुभेच्छुक तथा शुभचिन्तकहरूको ठूलो हात रहेको आयोजकले जनाएको छ । विशेषगरी क्लबका पदाधिकारी, आबद्ध सदस्यहरू र कार्यक्रममा खटिएका बसाहाका समाजसेवी तथा युवाहरूको ठूलो मेहनत छ । नेपाल प्रहरीका भूतपूर्व एआइजी टेकप्रसाद राई, भूतपूर्व सैनिकहरू, सक्रिय महिला तथा समाजसेवीहरूसमेत विशेष रूपले खटिएका थिए । दशौँ संस्करणसम्म जसोतसो डोर्याएर अघि सारिएको गोल्डकपलाई अबका दिनमा संस्थागत विकास गरेर लैजाने उद्देश्य सहित सबैजना खटिएका थिए ।
आयोजकका अनुसार एघारौँ संस्करणलाई सम्पन्न गर्न जिम्मेवारी लिएको टिम र जिम्मेवार व्यक्तित्वहरू पारदर्शी र पूर्ण जिम्मेवारीका साथ काम गरेका थिए । यस किसिमले काम गर्दा सफलता पाउन सकिन्छ भन्ने उदाहरण उनीहरु बनेका छन् । प्रतियोगिता सकिएको पाँच दिनमै पत्रकार सम्मेलन गरेर प्रतियोगिता र आय व्याय सार्वजनिक गर्नु आफैमा थप जिम्मेवार,जवाफदेहिता र पारदर्शिता देखाएको छ ।
सामाजिक प्रतिष्ठाको नाममा गरिने मेला महोत्सव तथा खेल प्रतियोगिताहरू प्राय जिम्मेवार रूपले आयव्यय सार्वजनिक गरिँदैन, गरिए पनि घाटा सुनाउने गरिएको छ । यसबीचमा आज पत्रकार सम्मेलन मार्फत आएको सफलताको सन्देश सबैका लागि अनुकरणीय बनेको छ ।
नाफाको रूपमा प्राप्त रकमलाई गोल्डकपको संस्थागत विकास र आगामी संस्करणको निमित्त सदुपयोग गरिने आयोजक बसाहा क्लवका अध्यक्ष दिनेश राईले बताए । गोल्डकप संस्थागत विकास हुन नसक्दा सधैं अरुमाथि निर्भर पर्नुपर्ने, मागेर कार्यक्रम गर्नुपर्ने अवस्था छ । भावी दिनमा स्थायी स्रोतको खोजी गर्ने र व्यवस्थित रूपले गर्ने लक्ष्य राखिएको छ ।
ऐतिहासिक व्यक्तित्व प्रजातान्त्रिक सेनानी स्वर्गीय नारदमुनि थुलुङको स्मृतिमा आयोजना गरिँदै आएको गोल्डकप जिल्लाको मात्र नभई देशकै प्रतिष्ठित प्रतियोगिता भएको पूर्व एआइजी टेकप्रसाद राईले बताए ।
राष्ट्रलाई नै महत्वपूर्ण योगदान दिएका ऐतिहासिक व्यक्तित्व नारदमुनि थुलुङको प्रतिष्ठासँग जोडिएको गोल्डकप भएकाले बसाहाको मात्र सम्झन नहुने सिंगो जिल्ला र देशकै प्रतिष्ठित प्रतियोगिताको रुपमा हेरिनुपर्ने उनको भनाइ छ। विगतमा भारतको फुटबल टिमलेसमेत भाग लिएर दुई देश बीचको सम्बन्धलाई खेलको माध्यमबाट जोड्ने कामसमेत भएको उनले बताए ।
खेलकुद मार्फत सामाजिक एकता सद्भाव पर्यटन प्रवर्धनमा टेवा पुर्याएको छ भने स्थानीय व्यवसाय सांस्कृतिक पहिचान र सामुदायिक सहभागिता उजागर गरेको छ । यसका साथै सुन्दर समृद्ध नगर बनाउने अभियान – हरेक नगरबासीको मुहारमा मुस्कान अभियान भन्ने सामाजिक सन्देश पनि दिइएको थियो । साथै स्वास्थ्य जीवन, असल तथा सभ्य समाज निर्माण अभियान नारा र स्वास्थ्य मन, स्वास्थ्य जीवन, लैङ्गिक हिंसा अन्त्य गरौ जस्ता सन्देश पनि दिएको थियो ।
