Saturday, May 23News That Matters

नारायणी नदीमा २०० जना क्षमताको मिनी पानीजहाज चलाउने तयारी

पूर्णपुष्टि, असोज १९

चितवनको नारायणी नदीमा मिनी पानीजहाज (क्रुज सिप) छिटै सञ्चालन हुने भएको छ । सरकारले सार्वजनिक कार्यक्रम गर्न अनुमति दिएको एक महिनामै सञ्चालनमा ल्याउने तयारी भएको हो ।

मिनी पानीजहाज सञ्चालनको आन्तरिक तयारी सकिएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ । तर कोरोना कहरका कारण नदीमा सञ्चालनमा ल्याउन नसकेको जनाईएको छ ।

यसअघि यसको परीक्षण भइसकेको छ । जहाज चलाउने क्याप्टेनसहित मुख्य कर्मचारीहरु समेत छनौट गरिसकेको प्रालिले जनाएको छ । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनको काप्रेघाटमा बनेर बसेको ‘क्रुज सिप’ (मिनी पानीजहाज)को नारायणी नदीमा ‘टेष्ट ड्राइभ’ समेत सफल रुपमा सम्पन्न भइसकेको थियो ।

क्रुज बनाउन तयार गरिएको पोर्टबाट झण्डै एक किलोमिटरसम्म ‘टेष्ट ड्राइभ’ भएसँगै विशिष्ट व्यक्ति पुग्दा बेलाबेला यसलाई चलाउने पनि गरिएको छ ।

पानीजहाज जस्तै देखिने क्रुज दुई तलाले रहेको छ । भित्रै रेष्टुरेन्ट र सांगीतिक कार्यक्रमको स्टेज, सुटिङ गर्ने ठाउँ, बैठक बस्न सकिने हल, सेल्फी खिच्ने स्थान, चालक दल बस्ने ककपिट छ ।
नेपालको इतिहासमै पहिलोपटक दुई सय जना क्षमताको यति ठूलो क्रुज सिप बनेको प्रालिले जनाएको छ । नेपालको जल यातायात र पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने आशा लिएको छ ।

 

नर्वेजियन प्रविधि प्रयोग गरेर निर्माण गरिएको क्रुज सिप चलाउनका लागि भारत केरलाबाट क्याप्टेन ल्याइएको छ ।  एक सय फिट लम्बाइ र २५ फिट चौडाइको मिनी पानीजहाजको बनाउन झण्डै १५ करोड रुपैयाँ खर्च भएको छ ।  दुई वटा इञ्जिन रहेको क्रुजमा दुवै इञ्जिन एकैपटक नचल्ने गरी बनाइएको छ । कुनै कारणले एक इञ्जिनमा समस्या आएमा मात्र अर्को चलाइने निर्माण कम्पनीले जनाएको छ ।

पहिलो तलाको अगाडिपट्टि सेल्फी खिच्ने, चलचित्र वा म्युजिक भिडियो सुटिङ गर्ने खुला ठाउँ छ । त्यहाँ १५ जना उभिन मिल्छ । बैठक पनि गर्न सकिन्छ । दोस्रो तलाको एक छेउमा विशिष्ट व्यक्तिका १० सिट बनाइएको छ ।

क्रुजको तल्लो भागमा कुनै कारणले प्वाल परेर वा क्षति भएर पानी पसेमा सबै भागमा पानी नजाने गरी डिजाइन गरिएको छ । महिला र पुरुषका लागि अलग–अलग शौचालय, काउन्टर र बार बनाइएको छ । एसी जडान गरिएको छ ।

क्रुज सिपमा १५ जना चालक दलका सदस्य र प्राविधिक हुनेछन् । क्रुज राख्न च्यानल काटेर १५ फिट गहिरो पार्किङ स्टेशन बनाइएको छ । क्रुजबाट चढ्न र झर्न यहीँ नै आउनुपर्ने व्यवस्था मिलाइएको छ ।

क्रुजलाई दिनमा तीन सिफ्ट सञ्चालन गर्ने योजना रहेको छ । त्यसमा काभ्रेघाटदेखि देवघाट र देवघाटबाट गोलाघाटको यात्रा गराइने कम्पनीले जनाएको छ । यसको गति प्रतिघण्टा ३५ किलोमिटरसम्म हुनेछ ।

वर्षातको तीन महिना यसलाई बन्द गरिनेछ । क्रुज सञ्चालनका लागि वातावरण बनेपछि अनलाइन बुकिङ आह्वान गर्ने प्रालिले जनाएको छ ।

क्रुजसिपमा ब्रेकफाष्ट क्रुज, लन्च क्रुज र  डिनर क्रुजका लागि अनलाइनबाटै बुकिङ खुला गरिने जनाएको छ । बाहिर तयारी खाना क्रुजमा तताएर खुवाउने समेत व्यवस्था मिलाइने छ ।