
पूर्णपुष्टि, फागुन ११
नासाले अन्तरिक्ष यान पर्सिभिअरन्स रोभर मंगल ग्रहमा अवतरण गर्दै गरेको भिडियो सार्वजनिक गरेको छ । अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अन्तरिक्ष यान पर्सिभिअरन्स रोभर मङ्गल ग्रहमा अवतरण गर्दै गरेको एउटा भिडियो सार्वजनिक गरेको हो ।
गत हप्ता मङ्गल ग्रहमा पर्सिभिअरन्स रोभर अवतरण गर्दाको अन्तिम क्षणलाई भिडियोमा देखाइएको छ । भिडियोमा रोबोटका चक्काले मङ्गल ग्रहको सतहमा टेक्दासम्मको दृश्य समेटिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
अन्तरिक्ष यान पर्सिभिअरन्सलाई रकेटले झुलाउँदै जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको सतहमा राखेको थियो । नासाले यानमा क्यामेराहरू बाँधेर पठाइएको थियो । सात वटा क्यामेरा यानको अवतरणको रेकर्डिङका लागि मात्रै राखिएको थियो ।
एक हजार किलोग्राम तौल भएको उच्च प्रविधियुक्त रोबोटमा सातवटा उपकरण, कयौँ क्यामेरा, माइक्रोफोन र एउटा ठूलो खन्ने उपकरण जडित छ । त्यस्तै, अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ ।
छ वटा पाङ्ग्रा भएको नासाको अन्तरिक्ष यान सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर गएको जनाइएको छ ।
