
पूर्णपुष्टि, माघ १५
जिल्ला निर्वाचन कार्यालय उदयपुरले आज निर्वाचन कार्यक्रम सम्बन्धमा सर्वपक्षिय तथा सर्वदलीय अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । जिल्ला समन्वय समिति उदयपुरको सभाहलमा आयोजित अन्तरक्रियामा सहभागी राजनितिक दलका नेताहरुले निर्वाचन सम्बन्धिको कार्यक्रमप्रति गुणासो ब्यक्त गरे । हाल निर्वाचनको नाममा गरिने गतिविधिलाई बेमौसमी बाजाको संज्ञा दिदै सरकारले समय र आर्थिक स्रोतको खर्च मात्र गरेको टिप्पणी गरे ।
नेकपा केन्द्रीय सदस्य एवम् त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले निर्वाचन आयोगले नेकपा अन्तरगतका देखिएका दुई समूह मध्य कुन आधिकारीक हो र कस्ले बैधानिकता सहित चुनाव चिन्ह पाउँछ भन्ने निर्कौल नगरी चुनावी गतिविधि अगाडी बढाउन अस्वभाविक भएको टिप्पणी गर्नुभयो ।
नेकपा उदयपुरका जिल्ला सचिव ईश्वरमणी राउतले सरकारले नहुने निर्वाचन घोषणा गरेको बताउनुभयो । चुनावि गतिबिधिले राज्यको आर्थिक स्रोत सकिने र जनशक्तिहरुले दुख पाउने भन्दै आपत्ति जनाए । संसद बिघटन ब्युतिने वा नब्युतिने भन्ने बारेमा न्यायलयको फैसाला आईनसकेको अवस्थामा चुनावि माहोल भन्दै प्रचार गर्ने र कार्यक्रमहरु गर्ने सरकारको शैली ठिक नभएको टिप्पणी गर्नुभयो । उहाँले निर्वाचनको कार्यक्रम प्रति असहमति जनाउदै नोटअफ डिसेनट समेत लेख्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख खड्ग बहादुर परियारले सरकारले तोकेको चुनाव समयमै हुने जिकिर गर्नुभयो । जनताको सुख र समृद्धिको लागि चुनावको घोषणा गरिएको भन्दै चुनावी माहौलमा होमिन राजनितिक दलहरुलाई आग्रह गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जिल्लामा निर्वाचनका लागि शान्ति सुरक्षाको लागि व्यवस्था चुस्त दुरुस्त रहेको जानकारी दिनुभयो । सरकारले निर्देश गरे अनुरुप चुनावी तयारी तथा सुरक्षा व्यवस्थामा प्रशासन तयार रहेको बताउनुभयो । उहाँले चुनावलाई मर्यादित र निष्पक्ष बनाउन सबैको साथ सहयोग चाहिने भन्दै शान्तिपूर्ण ढंगले आफ्नो गतिविधिलाई अगाडी बढाईदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि आवश्यक तयारी तथा प्रचारको काम अगाडी बढाएको जानकारी दिइयो । मतदाता शिक्षा, मतदाता नामवली सच्याउने जस्ता कामहरु हाल भईरहेको र त्यसका लागि राजनितिक दल तथा स्थानीय सरकारको सहयोग आवश्यक रहेको जिल्ला निर्वाचन अधिकृत हिमालय बरालले बताउनुभयो ।
