Sunday, August 9News That Matters

निषधाज्ञाको समयमा बढ्यो अपाङ्गता महिलामाथि यौन अपराध

पूर्णपुष्टि, वैशाख ३१

कोरोनाको क्रस फैैलिएसंगै संक्रमण फैलन नदिन जारी निषेधाज्ञामा अपांगता भएका महिला, बालिका, किशोरी यौन हिंसा तथा बलात्कारमा पर्ने घटनाहरु बढेको छ । बहुअपांगता, बौद्घिक अपांगता, बहिरा अपांगता, शारीरिक अपांगता भएका बालिका, महिला, किशोरी सहजै भाग्न नसक्ने र आफूमाथि भएको अपराध सहजै भन्न नसक्ने, भने पनि बुझाउन नसक्ने हुँदा अपराधीको शिकार भएका छन् ।

वैशाख ९ गते बनेपाको भैंसेपाटीमा बौद्धिक अपांगता (डाउन सिन्ड्रोम) भएकी २७ वर्षीया लीला तामाङ (परिवर्तित नाम) बलात्कृत भइन् । काममा गएकी आमा छोरीलाई खाजा खुवाउन डेरा आउँदा छिमेकी ठूलोकान्छा भन्ने देव दोर्जे लामाले बलात्कार गरेको भेटेपछि छिमेकीको सहयोगमा पक्राउ गरी बनेपा प्रहरीमा बुझाएका थिए । पीडक लामा वैशाख ३० गते कारागार चलान भएका छन् ।

त्यसैगरी वैशाख १६ गते दिउँसो सर्लाही हरिवनकी २८ वर्षीया मुना कार्की (परिवर्तित नाम) बलात्कारमा परिन् । बोल्न र सुन्न नसक्ने उनलाई हावाले झारेको आँप टिप्न गएको बेला बलात्कार गरेका छिमेकी राकेश पौडेल फरार छन् । त्यो घटनापछि मुनामा मानसिक समस्या थपिएको छ । नीलो रङको लुगा लगाएका पुरुष देख्नासाथ उनी चिच्याउँछिन् । बलात्कार गर्दा राकेश पौडेलले नीलो कपडा लगाएका थिए ।

महोत्तरी जिल्ला लोहरपट्टीकी बहुअपांगता भएकी २० वर्षीया सानुकुमारी कुर्मी (परिवर्तित नाम) गत वैशाख २६ गते घरमै बलात्कृत भइन् । बोल्न नसक्ने, अरूले बोलेको राम्रोसँग बुझ्न नसक्ने, हिंडडुल गर्न नसक्ने उनलाई छिमेकी ताहिर सेखले बलात्कार गरेका थिए । ट्याक्टर चालक ताहिरले गहुँ बजार लगिदिएको भाडा लिन आउँदा सानुकुमारी घरमा एक्लै रहेको भेटेर उक्त अपराध गरेका थिए । बेलुका आमाबुवा आएपछि सानुकुमारीले आफूमाथि भएको अपराध हातको इशाराले बताउन खोजिन्, तर बुझाउन सकिनन् । भोलिपल्ट फेरि आएका ताहिरलाई हातले देखाउँदै सानुकुमारी आत्तिंदै रुन थालेपछि सेख भाग्यो । त्यसपछि मात्र आमाबुवाले छोरीमाथि बलात्कार भएको थाहा पाएर समाजसँग के गर्ने भनेर सल्लाह मागे । तीमध्ये धेरैजसोले समझदारी गरेर जानुपर्ने बताएपछि बुबाआमा सीधै जिल्ला प्रहरी कार्यालय, महोत्तरी पुगे । पीडक ताहिर भने अझै फरार छन् ।

उल्लिखित तीन घटना वैशाखभित्रका हुन् । यी घटनाले अपांगता भएका महिलाहरू कति जोखिममा छन् भन्ने देखाउँछ । नेपाल अपांग महिला संघकी अध्यक्ष टीका ढकाल पोहोर लकडाउन शुरू भएयता अपांगता भएका २६ महिला यौन हिंसा तथा बलात्कारमा परेको बताउँनुहुन्छ । कोरोना संकटले अपांगता भएका महिलाहरूलाई थप जोखिममा पारेको उहाँको भनाइ छ ।

अध्यक्ष ढकालकाअनुुसार कोरोनाको तनावमा घरमा थुनिएका अपांगता भएका महिला, बालिका, किशोरीहरू परिवारकै सदस्य, छिमेकी र आफन्तबाट यौन हिंसा तथा बलात्कारमा पर्नुले देखिन्छ ।  उहाँकाअनुसार इज्जत जोगाउने नाममा भित्रभित्रै ढाकछोप गरिने भएकोले यस्ता सबै अपराधका घटना सार्वजनिक नभएको बताउनुहुन्छ ।