Friday, May 22News That Matters

निषेधाज्ञमा पालिकाबासीको सहजताका लागि लिम्चुङबुङ गापाको म्यासेन्जर सेवा

पूणर्पुष्टि, भदौ ४ ।

निषेधाज्ञको समयमा विरामीलाई सवारी आवागमन सिफारिसका लागि सहजता तुल्याउने उदेश्यले उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले म्यासेन्जर सेवा सञ्चालनमा ल्याउने भएको छ । भोलीदेखि नै यो सेवा सञ्चालनमा आउने पालिकाका प्रमुख प्रशासकीय अधिकृत टार्जन लिम्बुले बताउनुभयो ।

उहाँका अनुसार पालिकाको वडाहरुबाट विरामीलाई बाहिर उपचार लैजान सवारी आवागमनका लागि आवश्यक पर्ने पालिकाको सिफारिस म्यासेन्जरबाटै उपलब्ध गराउने ब्यवस्था मिलाएको हो । पहाडी भुभाग, वर्षातको मौसम त्यसमाथी यातायात सेवा बन्द रहेकाले वडाहरुबाट पालिकाको कार्यालयसम्म आएर सिफारिस लिन लामो समय खर्च र कष्ट हुने कुरालाई मध्येनजर गर्दै म्यासेन्सर सेवा थालेको उहाँले बताउनुभयो ।

म्यासेन्जर सेवाका लागि सेवाग्राहीले पालिकाको आधिकारिक फेसबुक पेज ”Limchungbung Rural Municipality / लिम्चुङबुङ  गाउँपालिका”को म्यासेन्जरमा  निवेदन र सम्बन्धीत वडाको स्वास्थ्य केन्द्रको रेफर कागजको फोटो खिचेर पठाउनु पर्नेछ । त्यसको १ घण्टाभित्रमा पालिकाबाट सिफारिस पत्र म्यासेन्जरबाटै उपलब्ध गराउने ब्यवस्था रहेको छ । निवेदनमा निवेदकले सवारी साधनको नम्बर, चालककाे नाम, विरामीको नाम, ठेगाना, विमारीको प्रकृति, जाने ठाउँ, जाने मिति र जाने ब्यक्तिहरुको बारेमा प्रष्ट जानकारी दिनुपर्नेछ ।

पालिकाले सेवाग्राह्रीको आवश्यकता अनुसार चौविसैघण्टा यो सेवा दिन कर्मचारी तोकेको छ । कर्मचारीको नाम र नम्बर पेजमा राखिदिएको छ । यसबाट कार्यालय समय बाहेकको अवस्थामा, रातीसमेत सेवाग्राहीले सिफारिस पाउनेछन् ।

यसो भएपछि सेवाग्राहीले पालिकासम्म पुगेर सिफारिस पत्र लिन नपर्ने भएको छ । यसअघि टाढाका पालिकाबासीलाई पालिका कार्यालयसम्म पुगेर सिफारिस पत्र लिन एकदिनकै माया मार्नु पथ्र्यो भने सवारी साधन बन्द छ, हिडेरै जानुपर्दा ठुलो कष्ट झेल्नु पथ्र्यो । पालिकाकोे वडा नं. ५ (जाँते), ४ (बलम्ता) सबैभन्दा टाढाको वडा हुन् भने वडा नं. १ (बाँसबोटे), २ (ताम्लिछा) को धेरै जसो भुभागलाई टाढा पर्दछ । वडा नं. ३ (बाराहा) मा पालिकाको केन्द्र रहेपनि सो वडाको केही भुभाग पनि टाढा पर्दछ ।

पालिकाबासीको कठिनाइलाई ध्यानमा राख्दै पालिकाले समय अनुकुल प्रविधिको प्रयोग गरेको हो । अहिले प्रायःजसो ठाउँमा मानिसहरुले फेसबुक चलाउने गरेका छन् । मोवाईलको डाटाबाट भएपनि चलिरहेको सामाजिक सञ्जार फेसबुकको सदुपयोग गरिएको हो ।

नोटिस प्राप्तीका लागि पालिकाबासीले पालिकाको आधिकारिक फेसबुक पेज लाइक गर्नु आवश्यक छ । म्यासेन्जर सेवालाई हाललाई सिफारिसको लागि प्रयोगमा ल्याएको भएपनि आगामी दिनमा अन्य थप्रै सूचना तथा जानकारीका लागि पनि प्रयोग गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत लिम्बुले बताउनुभयो  ।