पूर्णपुष्टि, असार १८
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक केहिबेर बसेर अहिले स्थगित भएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिसँगको परामर्श र मन्त्रीपरिषद्को बैठकमा व्यस्त भएकाले बैठक स्थगित भएको हो ।
स्थायी कमिटीको बैठक रोकेर अहिले ओली र प्रचण्डबीच छुट्टै छलफलको तयारी भइरहेको छ । यसअघि पार्टी स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले दलका नेताहरुसँग परामर्श गर्नुभएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका स्थायी कमिटीसदस्यहरुसँग छलफल गर्नुभएको छ । पार्टीभित्र देखिएको विवाद समाधानको लागि नेताहरु परामर्शमा जुटेका हुन् । मङ्गलबार र बुधबारको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपाभित्रको विवाद सतहमा आएको हो ।
बुधबार बिहान ओलीले मन्त्रिमण्डलका केही सदस्य र आफ्नो पक्षका नेताहरुसँग छलफल गरेपछि साँझ अध्यक्ष दाहाल र नेपाल पक्षका नेताहरुको समेत छुट्टै बैठक बसेको थियो । दाहालले आफ्नो निवासमा स्थायी कमिटी सदस्यहरुलाई आज बिहान छलफलका लागि बोलाएपछि ओली पक्षका नेताहरुसमेत सहभागी भएका थिए ।
छलफलमा सचिवालय सदस्यसमेत रहनुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु रघुवीर महासेठ, वर्षमान पुन, सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे, पम्फा भुसालगायतको सहभागिता रहेको थियो ।
