Wednesday, April 22News That Matters

नेपाल प्रहरीका ८०२ युनिट शौचालयविहीन, प्रहरी कर्मचारीलाई दैनिक सास्ती

पूर्णपुष्टि, साउन ७ । नेपाल प्रहरीका कार्यालयहरूमा आधारभूत सुविधाको अभाव रहेको खुलासा भएको छ। प्रहरी प्रधान कार्यालयले गरेको अध्ययन अनुसार देशभरका २,६६० प्रहरी इकाई तथा कार्यालयहरूमध्ये ८०२ वटामा शौचालय नै छैन।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीका अनुसार शौचालय नहुँदा प्रहरी कर्मचारीहरूलाई दैनिक कामकाजमा समस्या परेको छ। विशेषगरी दुर्गम क्षेत्रका प्रहरी चौकीहरू र व्यक्तिको घरमा अस्थायी रूपमा बसेका चौकीहरूमा यो समस्या बढी देखिएको छ। शौचालय नहुँदा प्रहरीहरू छिमेकीको शौचालय प्रयोग गर्न बाध्य छन्।

यसका साथै ८३३ प्रहरी इकाईहरूमा मेस ९खाना पकाउने र खाने ठाउँ० को पनि अभाव रहेको पाइएको छ। १,०४२ प्रहरी इकाई जग्गाविहीन छन् भने ७९१ इकाईको आफ्नै कार्यालय भवन छैन। ८४३ प्रहरी कार्यालयमा ब्यारेक छैन। ३७० प्रहरी कार्यालयहरू भाडाको भवनमा सञ्चालन भइरहेका छन् भने ४२१ कार्यालय अन्य निकायको भवनमा आश्रित छन्। यी तथ्यांकले नेपाल प्रहरीको कार्य वातावरण र आधारभूत सुविधाको स्थिति कमजोर रहेको देखाउँछ। यसले प्रहरी कर्मचारीहरूको दैनिक जीवन र कार्यसम्पादनमा नकारात्मक असर पारेको छ।