
पूर्णपुष्टि, माघ २९ ।
नेपाल बालसाहित्य समाजको नवगठित कार्यसमितिलाई कार्यभार हस्तान्तरण गरिएकाे छ । कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ । वि.सं. २०७५ सालमा गठित कार्यसमितिको कार्यकाल सकिए पछि २०७७ माघ ३ गते निर्वाचित नवकार्यसमितिलाई पुरानो कार्यसमितिले कार्यभार हस्तान्तरण गरेको हो । निवर्तमान अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालले आफ्नो नेतृत्वको कार्यकालमा भएका महत्वपूर्ण कामहरुको जानकारी गराउँदै शुभेच्छा र शुभकामनासहित नवगठित कार्यसमितिका अध्यक्ष प्रा.डा. ध्रुवकुमार घिमिरेलाई कार्यभार हस्तान्तरण गर्नुभयो । संस्थाको प्रगति विवरण प्रस्तुत पछि वर्तमान महासचिव श्री यशु श्रेष्ठलाई संस्थाको माइन्युट हस्तान्तर गर्नुभयो ।
नेपाल बाल साहित्य समाज २०४४ सालमा स्थापित नेपालकै जेठो बालसाहित्यिक संस्था हो । संस्थाले बालसाहित्यको विकास र बालसाहित्यमार्फत पठनसिप, पठन संस्कार र संस्कृतिको विकासका लागि विविध कार्यहरु गर्ने गर्दछ । बागबजारस्थित पद्मकन्या क्याम्पसमा माघ २४ गते निवर्तमान अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालको अध्यक्षतामा कार्यक्रम भएकाे थियाे ।
अध्यक्षमा प्रा.डा. ध्रुवकुमार घिमिरे, उपाध्यक्षमा प्रमोद प्रधान, महासचिवमा यशु श्रेष्ठ, सचिवमा डा. यादेवी ढकाल र कोषाध्यक्षमा राजेन्द्रभक्त जोशी हुनुहुन्छ । साथै सदस्यहरुमा उद्धव प्याकुरेल, एकाराम सिं, मन्जु ज्ञवाली, शान्ति सापकोटा, सजनी नौबागे र सुशीला प्रधानाङ हुनुहुन्छ ।
नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै वरिष्ठ बालसाहित्य सर्जक तथा समाजका मानार्थ सदस्य शान्तदास मानन्धरले शुभकामना दिनुभयाे । बालसाहित्य सर्जक, पूर्वअध्यक्ष तथा समाजका सल्लाहकार श्री तेजप्रकाश श्रेष्ठले नोटबुक र कलम तथा निर्वाचन संयोजक श्री मातृका पोखरेलले प्रमाणपत्र दिनुभयाे । उहाहरुले शुभकामना मन्तव्य व्यक्त गर्दै नेबासासले बालसाहित्यको विकासमा जोड दिँदै सम्पूर्ण बालसाहित्य सर्जकहरुलाई समेटेर लैजाने विस्वास व्यक्त गर्नुभयो ।
निर्वाचन समितिका संयोजक तथा सदस्यहरुलाई पनि कदरपत्र प्रदान गरिएको थियो । यसपटक अनलाइनमार्फत पनि मतदान गर्ने व्यवस्था गरिएको थियो । अनलाइन भोटिङ समितिका सदस्यहरुलाई पनि कदरपत्र प्रदान गरियो । कार्यक्रममा समाजका आजीवन सदस्य एवं प्राज्ञ डा. देवी नेपाल, सल्लाहकार भिक्टर प्रधानसहितले शुभकामना मन्तव्य राख्दै अब नेबासासले गर्नुपर्ने कार्यबारे प्रकाश पार्नु भएको थियो ।
