
पूर्णपुष्टि, बैशाख ३०
नेपालमा भएको कोरोना असर बारे अमेरिकामा छलफल भएको छ । अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोनाको असरबारे छलपल भएको हो ।
कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने सिनेटर क्रिस मुर्फेले नेपाल लक्षित भएर जिज्ञासा राखेका थिए।
उनले नेपालको करिब तीन करोड जनसङ्ख्या कोरोना भाइरसको मारमा परेको भन्दै युएसएआइडीले हालै गरेको सहयोगका बारेमा समेत चर्चा गरे। सिनेटर क्रिसले नेपालमा स्वास्थ्य सामग्रीको निर्यातमा भारतले बन्देज लगाएकाले अवस्था झन नाजुक भएको भन्दै चिन्ता व्यक्त गरे थिए ।
कोभिड महामारीको लागि युएसएआइडीका लागि वरिष्ठ सल्लाहकार जेरेमी कोन्डयाकले नेपालको अवस्था भयावह भएको उल्लेख गर्दै परीक्षण गरिएका अधिकांशमा कोरोनाको सङ्क्रमण पाइएको बताए। यो दर उच्च भएको उनको टिप्पणी थियो । उनले नेपाललाई अतिरिक्त सहायताका लागि योजना बनाइरहेको पनि सिनेटलाई जानकारी दिए ।
अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले सिनेटमा नेपालको विषयले प्रवेश पाएकोमा खुशी व्यक्त गर्दे भने, “अहिले नेपाललाई स्वास्थ्य आपतकालसँग जुध्न मित्रराष्ट्र अमेरिकाले सहयोग गर्नु विगतमा अन्य तरिकाको गरिएको सहयोगभन्दा पनि महत्वपूर्ण हुने बताए ।
उनले अमेरिकाका सम्बन्धित निकायहरुलाई नेपालको महामारीको असरको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै नेपाललाई विभिन्न तरिकाले सहयोगको खाँचो रहेको र त्यसका लागि अमेरिकी सरकारसँग दूतावासले अनुरोध गरिरहेको बताए ।
