
पूर्णपुष्टि, बैशाख १९ गते ।
नेपालको हावाका प्रदूषण मानव बसोबास योग्य अवस्थामा पुगेको छ । नेपाल सरकारको वातावारण विभाग र विभिन्न संस्थाहरुले राखेका २२ वटा प्रदूषण मापन केन्द्रहरुले ग्रीन सिग्नल देखाएको हो ।
सन् २०१६ पछि नेपालका हावाको प्रदूषण नाप्न थालिएको थियो । हावाको प्रदुषण नाप्न थालिएको पहिलो पटक नेपालभरको ग्रीन सिग्नल देखिएको वातावरण विभागले जनाएको छ ।
हावामा प्रदूषण बढ्नुमा सबैभन्दा बढी भूमिका गाडीहरुको धुवाँको हुन्छ, त्यस्तै इँटाभट्टालगायतका उद्योगहरुको कारण पनि प्रदूषण हुन्छ । तर अहिले लकडाउनले गर्दा यी सबै कम चलेका कारण प्रदूषण कम भएको जनाईएको छ ।
हावाको प्रदूषण मापन सूचकाङ्क अक्वाको अन्तर्राष्ट्रिय मापदण्ड २५ विश्व स्वास्थ्य सङ्गठनले तोकेको छ । नेपालले ४० सा सीमित राख्ने लक्ष्य लिएको छ । प्रदूषण मापन केन्द्रहरुले अक्वा ५० सम्म हरियो अर्थात् बसोबासका लागि उत्तम, एक सयसम्म पहेँलो अर्थात् बसोबासका लागि योग्य, अक्वा एक सय ५० सम्म बैजनी अर्थात् समस्यापूर्ण र एक सय ५० भन्दा माथि गएमा रातो अर्थात् बसोबासका लागि अयोग्यको सङ्केत देखाउने गरेको जनाईएको छ ।
काठमाण्डौ, सिमरा, दाङ, धनकुटालगायतका मापन केन्द्रहरुले धेरैजसो समय रातो सङ्केत देखाउने गरेकोमा केही दिनदेखि नेपालभर हरियो सङ्केत देखिएको जनाईएको छ । अत्यन्तै प्रदूषण हुने सिमरा र नेपालगञ्जमा अक्वा १५ भन्दा तल झरेको छ भने सौरहा, दाङलगायतमा ४० भन्दा कम छ ।
