
पूर्णपुष्टि, असोज २ । उदयपुरको उदयपुरगढी गाउँपालिको नेपालटार बजार र रौतामाई गाउँपालिकाको मुर्कुची बजार बुधबार संयुक्त बजार अनुगमन गरिएको छ।
उदयपुरको नेपालटार र मुर्कुची बजारमा बुधबार संयुक्त बजार अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय उदयपुर लगायत विभिन्न कार्यालयहरूको संयुक्त टोलीले गरेको अनुगमनमा करिब १६,१५५ रुपैयाँ मूल्य बराबरको म्याद गुज्रिएको सामान बरामद गरी नष्ट गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीको नेतृत्वमा गरिएको अनुगमनमा चिप्स, पेय पदार्थ, मसला, बियर, बिस्कुट र मदिरा जन्य सामग्रीहरू बरामद गरिएको थियो। यी सामानहरू मुर्कुची नजिकैको छौडे खोलामा लगेर नष्ट गरिएको छ।
पहिलो पटक अनुगमनमा परेको कारण व्यापारीहरूलाई जरिवाना नगरी चेतावनी दिइएको छ। तर, अर्को पटकको अनुगमनमा पनि यस्तै म्याद गुज्रिएको सामान फेला परेमा कारबाही प्रक्रिया अगाडि बढाइने अधिकारी रेग्मीले बताए।
अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका खरिदार सन्जिव कुमार कार्की, करदाता कार्यालयका कार्यालय प्रमुख मदन दाहाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत मेनस श्रेष्ठ, प्रहरी र जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नेपालटार र मुर्कुचीका गरी जम्मा २५ वटा पसल तथा होटलमा अनुगमन गरिएको छ।



