Wednesday, April 22News That Matters

नेपालमा पहिलो पटक जलवायु तथा मौसम सम्बन्धी राष्ट्रिय नीति बन्दै

पूर्णपुष्टि, असार २१ । नेपाल सरकारले जलवायु तथा मौसम सम्बन्धी पहिलो राष्ट्रिय नीति बनाउने प्रक्रिया अघि बढाएको छ। यो नीतिको मस्यौदा तयारी अन्तिम चरणमा पुगेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ।

जलवायु परिवर्तनका कारण नेपालमा चरम मौसमी घटनाहरू बढिरहेका छन्। यसबाट सिर्जित विपद्ले जनधनको क्षति भइरहेको छ। तर यससँग जुध्न राष्ट्रिय नीति र कानुन थिएन। नीतिको अभावमा अन्तर्राष्ट्रिय सहयोग लिन, तथ्यांक आदानप्रदान गर्न, विभिन्न निकायबीच समन्वय गर्न र मौसम पूर्वानुमान तथा सेवाको गुणस्तर सुधार गर्न कठिनाइ भइरहेको छ।

नेपालमा हुने ९० प्रतिशत प्राकृतिक विपद् जल तथा मौसमजन्य प्रकोपबाट हुने भएकाले विश्वसनीय पूर्वसूचना प्रणाली आवश्यक छ। नीति बनेपछि ऐन पनि बनाउने तयारी छ। विज्ञहरूले जल, मौसम र जलवायुलाई छुट्टाछुट्टै सम्बोधन गर्ने नीतिको आवश्यकता औंल्याएका छन्। यो नीतिले नेपालको जलवायु परिवर्तन र मौसमसम्बन्धी चुनौतीहरूलाई सम्बोधन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।