
पूर्णपुष्टि, बैशाख २८
नेपालमा पनि कोरोना संक्रमितको मृत्युदर काहाली लाग्दो अवस्थामा पुगेको छ । दिनप्रतिदिन बढ्दो मृत्युदरले नेपालमा यसको रोकथाम तथा नियन्त्रणमा थप चुनौती दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ सय ३९ जनाको मृत्यु भएको छ । यो संख्या अहिलेसम्मकै बढी हो ।
दिनमै १ सय ३९ जनाको ज्यान गइरहेको अवस्थामा प्रत्येक दिन यसको संख्या बढ्न सक्ने देखिएको छ । अहिले संक्रमितको संख्या पनि प्रत्येक चेकमा पुष्टि भईरहेको छ । यता निको हुनेको संख्या कम छ भने संक्रिय र घम्भिर बिरामीहरु बढेको मन्त्रालयको ग्राफले प्रष्ट पार्छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जति संक्रमित थपिँदै जान्छन्, मृत्यु हुनेको संख्या पनि उत्तिकै बढेको पाइएको बताउनुभएको छ । मृत्यु हुनेको संख्या दुई सातामा अझ बढ्न सक्ने पनि उहाँले बताउनुभयो ।’
देशभरि १८ हजार ४ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ९ हजार २ सय ७१ जना अर्थात् ५०.३५ प्रतिशतलाई संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन । सक्रिय संक्रमितको संख्या सोमबार ९३ हजार १ सय ४१ पुगेको छ ।
यसअघि वैशाख २० गते हरेक ३८ मिनेटमा १ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो । एक सातामै हरेक १० मिनेटमा १ जनाको मृत्यु भएको हो । मन्त्रालयको तथ्यांकअनुसार वैशाखका २७ दिनमा ८ सय १ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन । यो हालसम्मको मृत्यु संख्याको २० दशमलव ७५ प्रतिशत हो । कोरोनाबाट सोमबारसम्म ३ हजार ८ सय ५९ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ दशमलव २ प्रतिशतको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
तथ्याङकले बैशाख १६ मा ३५, १७ मा ३३ १८ मा १९, १९ मा २७, २० मा ३७, २१ मा ५५, २२ मा ५८, २३ मा ५४, २४ मा ५०, २५ मा ५३, २६ मा ८८ र २७ मा १३९ जनाका मृत्यु भएको ग्राफ सार्वजानिक गरेको छ ।
