Friday, May 22News That Matters

नेपालमा ९२ अर्व भन्दाबढी विप्रेषण भित्र्यो

पूर्णपुष्टि, असोज १० 

चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा कूल ९२ अर्ब ७१ करोड रुपैयाँ बराबरको विप्रेषण भित्रिएको छ । कोरोना महामारीले ठूलो असर पारेपनि विप्रेषण आप्रवाहमा कुनै असर नपरेको हो ।

विप्रेषण आप्रवाहमा २३ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको विवरणले देखाएको छ ।

सरकारले अवैध माध्यमबाट आउने विप्रेषणलाई वैधानिक माध्यमबाट भित्र्याउन लिएका नीति तथा कार्यक्रम क्रमशः प्रभावकारी बन्दै गएको छ । हुण्डीलगायतका अवैध कारोबार रोकिदा बैंकिङ प्रणालीबाट मात्रै विप्रेषण भित्रिएको हो । अघिल्लो वर्षको त्यही अवधिमा विप्रेषण आप्रवाह दुई प्रतिशतले बढेको थियो ।

बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या ९९.२ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १९ प्रतिशतले घटेको थियो । यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय २० प्रतिशतले वृद्धि भई  एक खर्ब एक अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.२ प्रतिशतले मात्रै बढेको थियो ।