
पूर्णपुष्टि, जेष्ठ २७ । नेपालले बास्केट बल ‘फाईभ नेसन्स’ च्याम्पियनसिप प्रतियोगिता खेल्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले नेपाली राष्ट्रिय पुरुष टोलीले माल्दिभ्समा हुने च्याम्पियनसिपमा भाग लिने बताएका हुन् ।
यस प्रतियोगितामा नेपाल सहित ५ राष्ट्रले प्रतिष्पर्धा गर्नेछ । बास्केटबल संघका महासचिव नरेन्द्र थापाका अनुसार यस च्याम्पियनसिपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान र पाकिस्तानको सहभागिता रहेको छ ।
च्याम्पियनसिपको लागि नेपालको टोलीसमेत घोषणा गरिएको छ । नेपाली टोलीमा सदिश प्रधान, विनोद महर्जन, विजय बुर्जा, निकेश राखल मगर, मविन्द्र भण्डारी, अजय कुश्वाहा, दिवेश्वर शाह, आयुश सिंह, निश्चल महर्जन, मनीष केसी, अशिम श्रेष्ठ र श्रेयशबहादुर शाह रहेका छन् । प्रतियोगितामा उपाधि जित्ने लक्ष्यसहित नेपालले मुख्य प्रशिक्षक दिनेश नकर्मीको प्रशिक्षणमा एक महिना प्रशिक्षण गरेको नेपाल बास्केटबल संघले जनाएको छ ।
प्रशिक्षकमा विपिन कपाली र नृपेश क्षेष्ठ रहेका छन् भने व्यवस्थापकमा सुशील गुरुङ छन् । राष्ट्रिय टिम प्रतियोगिताको लागी सोमबार माल्दिभ्स प्रस्थान गर्ने जनाईएको छ । डिसेम्बर २०१९ मा नेपालमै भएको १३ औं साग खेलेको नेपालले तीन बर्षभन्दा बढी समयपछि अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो ।
