
पूर्णपुष्टि, असोज २२
सबै नेपाली नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताउनुभयो ।
आज विश्व दृष्टि दिवस हो । दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मन्त्रि ढकालले सो कुरा बताउनुभएको हो । ‘दृष्टिप्रतिको आश’ भन्ने मूल नाराका साथ आज विभिन्न कार्यक्रम गरी विश्व दृष्टि दिवस मनाइँदै छ ।
‘नागरिकहरुको दृष्टिको सुरक्षाको लागि नेपाल सरकार सचेत र क्रियाशील रहेको विषय अनुरोध गर्दै आजको विश्व दृष्टि दिवसको सन्दर्भमा सम्पूर्णमा दृष्टिदोषरहित जीवनको कामना गर्दछु ।’स्वास्थ्य मन्त्री ढकालको शुभकामना सन्देशमा लेख्नु भएको छ ।
नेपालले अहिले कोरोना संक्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनुपर्ने विश्वव्यापी र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पु¥याउन पनि उहाँले आह्वान गर्नु भएको छ ।
नेपालमा सन् २०१२ को सर्वेक्षणले जनसंख्याको ०.३५ प्रतिशतमा दृष्टिदोषको समस्या रहेको देखाएको छ । यो समस्या सन् १९८१ को सर्भेक्षणमा ०.८४५ जनसंख्यामा रहेको थियो ।
विश्व स्वास्थ्य संगठनको आँकडानुसार विश्वमा करीब दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या छ भने करीब एक अर्बलाई अझै पनि आँखा सेवाको पहँुच भएमा दृष्टिको जगेर्ना गर्न सकिने जनाएको छ । यसमा थप करीब दुई अर्ब ६० करोडमा अदूरदृष्टिको समस्या रहेको छ, जसमध्ये तीन करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा यस्तो समस्या देखिएको छ ।

